काठमाण्डौ । मन्त्री प्रतिभा रावलले चितवन भ्रमणका क्रममा क्षेत्र नं २ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका भूमिहीन नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका जग्गासम्बन्धी समस्या तथा गुनासा सुनेकी छन्।
भूमिहीन नागरिकले लामो समयदेखि भोग्दै आएका जग्गासम्बन्धी समस्या, स्वामित्व विवाद तथा लालपुर्जा वितरण प्रक्रियामा देखिएका अवरोधबारे मन्त्री रावलले स्थलगत रूपमा जानकारी लिएकी हुन्।
भ्रमणका क्रममा उनले भूमिहीन नागरिकका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्।
विशेषगरी लालपुर्जा वितरण प्रक्रियामा देखिएका ढिलाइ र प्रशासनिक अवरोध हटाएर प्रक्रिया छिटो तथा प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ थियो।
मन्त्री रावलले भूमिहीन नागरिकको समस्या केवल कागजी प्रक्रियासँग मात्र नभई उनीहरूको जीविकोपार्जन, बसोबासको सुरक्षा र सम्पत्तिमाथिको अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले समाधानलाई प्राथमिकतामा राखिने बताइन्।
स्थानीयसँगको प्रत्यक्ष संवादले वास्तविक समस्या पहिचान गर्न सहयोग पुगेको भन्दै उनले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया तीव्र बनाउन पहल गरिने उल्लेख गरिन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।