काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवन राइनोजले ब्याटिङ सुरु गर्ने भएको हो।
विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियासहित आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, इमरान शेख, प्रतिक श्रेष्ठ र शुभम रन्जानेजस्ता खेलाडी छन्।
चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन्। चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, विवेक यादव, मौसम ढकाल, हसन अली र उसामा मीरलगायत खेलाडी छन्।
आजै अपराह्न साढे ४ बजे अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। जनकपुरको कप्तानी हर्मित सिंह र कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दैछन्।
सोमबार सुरु भएको एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्।
यस संस्करणमा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रयोग गरिएको छ। साथै, आईसीसीबाट प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।
क्यानले यसपटक पुरस्कार राशिसमेत बढाएको छ। उपाधि विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।