काठमाण्डौ । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।
पदको दुरुपयोग गरेको आरोप, अतिरिक्त भत्ता लिएको विषय र अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरिएको विवाद चर्किएपछि गुरागाईंले मंगलबार राजीनामा दिएका हुन्।
उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार राजीनामा स्वीकृत हुने प्रक्रियामा छ।
गुरागाईं पछिल्लो समय आयोगको कामकारबाहीलाई लिएर आलोचनामा पर्दै आएका थिए। विशेषगरी अतिरिक्त भत्ता बुझेको तथा अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विषयले आयोगको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाएको थियो।
यी विषयमा विरोध बढ्दै गएपछि गुरागाईंमाथि नैतिक दबाब बढेको थियो।
अन्ततः विवाद बढिरहेकै बेला उनले पदबाट बाहिरिने निर्णय गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।