काठमाडौं । दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्। विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ती उजुरी प्राप्त भएका हुन्।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ। एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई काम गरेको अवधिको अनुपातमा यस्तो खर्च दिनुपर्ने व्यवस्था छ।
उजुरीपछि विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा निजी विद्यालयका सङ्गठन प्याब्सन र एनप्याब्सनलाई समेत पत्राचार गरी श्रमिकको चाडपर्व खर्च सुनिश्चित गर्न भनेको थियो।
विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार श्रमिकको उजुरीपछि रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिइएको थियो। त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विवरण पेश गरेको छ।
पाण्डेका अनुसार विभाग र मातहतका कार्यालयले उजुरीका आधारमा आवश्यक कारबाही अघि बढाइरहेका छन्। सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोमा समेत सम्बन्धित रोजगारदातासँग सम्पर्क गरी समस्या समाधानको पहल भइरहेको छ।
श्रमिकका गुनासा चाडपर्व खर्चमा मात्र सीमित नरहेको विभागले जनाएको छ। कतिपय श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको र नियमित तलब भुक्तानी नभएको गुनासोसमेत गरेका छन्। महानिर्देशक पाण्डेले श्रम ऐनले सुनिश्चित गरेको चाडपर्व खर्च उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व भएकाले यसको कार्यान्वयनमा कडाइ गरिने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।