काठमाण्डौ । तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेसँगै बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले बिहीबारदेखि सुनको असर्फी तथा लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन बिक्री सुरु गरेको हो।
सिक्का किन्न बिहानैदेखि सेवाग्राही लाइनमा बसेका छन्।
महाशाखाका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको सुनको असर्फी एक थान किन्न पाउनेछन्। त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन एक–एक थानका दरले बढीमा दुई थानसम्म खरिद गर्न सकिनेछ।
तिहारमा सुनचाँदीका सिक्का तथा लक्ष्मी–गणेश अंकित मेडालियन किन्ने प्रचलनका कारण टक्सार महाशाखामा ग्राहकको चाप बढेको हो।
राष्ट्र बैंकले मौज्दात रहेसम्म सर्वसाधारणलाई असर्फी र मेडालियन उपलब्ध गराउने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।