काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका आयोजनामा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ।
विभागका अनुसार पहिलो तीन महिनामा भएको कुल खर्चमध्ये ८८ प्रतिशत पूँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको हो।
विभागका महानिर्देशक दिनेश रजौरियाले तयारी पूरा भएका आयोजनामा बजेट खर्च र निर्माण दुवैमा राम्रो प्रगति देखिएको बताएका छन्।
पहिलो त्रैमासिकमा ठूला सिँचाइ आयोजनाले भौतिक प्रगतिसँगै उल्लेख्य बजेट खर्च गरेका छन्। महाकाली सिँचाइ आयोजनाले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति हासिल गरेको छ।
उक्त आयोजनाले पहिलो तीन महिनामा ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ। यो त्रैमासिकका लागि विनियोजित बजेटको अढाइ गुणाभन्दा बढी हो।
त्यस्तै, बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन्।
यी चार ठूला आयोजनाले मात्रै पहिलो त्रैमासिकमा १ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेका छन्। यो विभागअन्तर्गतका सबै आयोजनामा भएको कुल खर्चको ५८ प्रतिशत हो।
विभागका अनुसार दाङको प्रगन्ना–बड्कापथ सिँचाइ आयोजनाले ८८.२ प्रतिशत भौतिक प्रगति गरेको छ।
यस्तै, गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले पहिलो त्रैमासिकका लागि तोकिएको शतप्रतिशत लक्ष्य पूरा गरेका छन्।
विभागले पहिलो त्रैमासिकमा देखिएको खर्च र भौतिक प्रगतिलाई दोस्रो त्रैमासिकमा पनि निरन्तरता दिने लक्ष्य राखेको छ।
महानिर्देशक रजौरियाका अनुसार तयारी पुगेका आयोजनामा काम र बजेट खर्च दुवै तीव्र बनेका छन् भने ढिलो सुरु भएका आयोजनालाई समेत दोस्रो त्रैमासिकमा यही गतिमा ल्याउने विभागको प्राथमिकता छ।
विभागले पहिलो त्रैमासिकको अधिकांश खर्च प्रत्यक्ष निर्माण कार्यमा केन्द्रित भएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।