काठमाण्डौ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो। यसअनुसार कम्पनीले कुल १७ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याब पशुपन्छी तथा जनावरको स्वास्थ्यसँग सम्बन्धित औषधि तथा पोषणयुक्त सामग्री उत्पादन गर्ने कम्पनी हो।
कम्पनीले कुखुरा, गाईवस्तु, घोडा, बंगुरलगायत पशुपन्छीका लागि आवश्यक औषधि तथा पशु आहारमा प्रयोग हुने पोषणयुक्त सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ।
आफ्ना उत्पादनको गुणस्तर परीक्षण तथा अनुसन्धानका लागि कम्पनीले प्रयोगशाला समेत सञ्चालन गर्दै आएको जनाएको छ।
कम्पनीको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा रहेको छ भने उत्पादन कारखाना काभ्रेको पाँचखालमा रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।