काठमाण्डौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै ९२ वटा साना तथा ठूला खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको बताएका छन्।
उनका अनुसार मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत विभिन्न जिल्लामा ती आयोजना अघि बढाइएको हो।
मन्त्री लम्सालले ती आयोजनाबाट आगामी ३० महिनाभित्र १३ लाख ७२ हजार नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बताएका छन्।
उनका अनुसार ९२ वटा आयोजनाको अनुमानित कुल लागत १७ अर्ब १५ करोड रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त हुन नसक्दा खानेपानीतर्फका नयाँ आयोजनाको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा भने खानेपानी क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताएका छन्।
मन्त्री लम्सालका अनुसार यस वर्ष कुल ४४ अर्ब रुपैयाँसम्मका खानेपानी आयोजनालाई खरिद प्रक्रियामा लैजाने तयारी गरिएको छ।
सरकारले २०८७ सालसम्म सबै नागरिकको घरघरमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखेको उनले उल्लेख गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।