काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २०० रुपैयाँसम्म पुगेको छ । बजारमा ३० देखि ३५ रुपैयाँमा पाइने नुन स्थानीय बासिन्दाले ढुवानी खर्चका कारण महँगो मूल्यमा किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ तोकेको भए पनि चुमनुब्रीका सामागाउँ र साम्दोमा एक प्याकेटको २०० रुपैयाँ पर्ने गरेको छ । ल्होमा १५०, बिहीमा १००, प्रोकमा १०० देखि १७० तथा छुले र निलेमा १८० देखि २०० रुपैयाँसम्म नुनको मूल्य पर्ने स्थानीयले बताएका छन् ।
मोटर पुगेको पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो । सामागाउँ र साम्दोसम्म सामान पुर्याउँदा प्रतिकिलो १०० रुपैयाँसम्म ढुवानी भाडा लाग्ने गरेको छ । वर्षायाममा कतिपय क्षेत्रमा ढुवानी भाडा प्रतिकिलो ७० रुपैयाँसम्म पुग्ने गरेको स्थानीयको भनाइ छ ।
सरकारले विकट हिमाली क्षेत्रमा सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान दिँदै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको जनाएको छ । पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले खर्च उपलब्ध गराउने गरेको छ ।
तर, अनुदानमा आएको नुन सिर्दिबास क्षेत्रमै सीमित हुँदा सामागाउँ, साम्दो र छेकम्पारलगायतका विकट बस्तीका बासिन्दाले त्यसको लाभ लिन सकेका छैनन् । सिर्दिबासबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्ने भएकाले थप ढुवानी खर्च व्यहोर्नुपरेको स्थानीयको भनाइ छ ।
चुमनुब्री गाउँपालिकाका सात वडामध्ये सिर्दिबासबाहेक अन्य छ वडा अझै सडक सञ्जालबाट टाढा छन् । नेपाली सेनाले बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत सडक निर्माणको जिम्मा पाए पनि बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याले कामले गति लिन सकेको छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।