काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा बैंकिङ तथा वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व विश्वराज बराल नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको कात्तिक १९ गते बिहीबार बसेको २३२औँ बैठकले बराललाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बरालसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको संस्थाले जनाएको छ। उनले नेपाल बैंक लिमिटेड, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड तथा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा सञ्चालक समितिको सदस्यका रूपमा समेत काम गरिसकेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका बरालले बैंकिङ व्यवस्थापन, जोखिममा आधारित लेखापरीक्षण, कर्जा व्यवस्थापन, सम्पत्ति शुद्धीकरण निवारण, बैंकिङ सुपरिवेक्षण तथा अनुपालनसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा व्यावसायिक कार्यक्रममा सहभागिता जनाएका छन्।
सन् २०२४ मा अमेरिकाको टेक्सासस्थित डलासमा आयोजित सार्वजनिक तथा निजी वित्तीय संस्थाहरूको सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा समेत उनी सहभागी भएका थिए।
बैंकिङ, वित्तीय तथा बीमा क्षेत्रमा बरालले हासिल गरेको अनुभव, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, रणनीतिक योजना, आन्तरिक नियन्त्रण तथा अनुपालनसम्बन्धी विज्ञताबाट ग्लोबल आइएमई लघुवित्तको संस्थागत सुशासन, रणनीतिक व्यवस्थापन तथा समग्र कार्यसम्पादन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने संस्थाले विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।