काठमाण्डौ । भक्तपुर, काठमाण्डौ र ललितपुरका चाडपर्व, जात्रा तथा सांस्कृतिक जीवन समेटिएको युबेश धौभडेलको नयाँ तस्बिरपुस्तक मंसिर ४ गते सार्वजनिक हुने भएको छ। एक दशकको अवलोकन र फोटोग्राफीका क्रममा संकलित तस्बिर समेटेर तयार पारिएको पुस्तकले उपत्यकाको पर्वसंस्कृतिलाई विश्वभरका पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ।
‘Confluence of Festivals: Temple Town to the World — An Invitation to Nepa Dey’ नामक पुस्तकको लोकार्पण म्युजियम अफ नेपाली आर्टस् (मोना)को सहकार्यमा ठमेलस्थित केजीएचमा हुनेछ। कार्यक्रम २०८३ मंसिर ४ अर्थात् २० नोभेम्बर २०२६ का लागि तय गरिएको छ।
पुस्तकमा ‘नेपा देय’ भनेर चिनिने नेपालमण्डलअन्तर्गत भक्तपुर, काठमाण्डौ र ललितपुरका धार्मिक अनुष्ठान, जात्रा, सांस्कृतिक प्रस्तुति, भक्तिभाव र दैनिक जनजीवनका तस्बिर समेटिएका छन्। पर्वसँगै तिनलाई निरन्तरता दिँदै आएका समुदायको भूमिका पनि पुस्तकको विषय बनेको छ।
धौभडेलका अनुसार पुस्तकले उत्सवका दृश्यसँगै सामूहिक स्मृति, सांस्कृतिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका परम्पराको अभिलेखीकरण गरेको छ। भक्तजन, कलाकार, संगीतकर्मी, स्वयंसेवक र स्थानीय परिवारको सहभागिताले गल्ली, चोक तथा परम्परागत आँगनलाई साझा आस्था र भेटघाटका स्थलमा बदल्ने प्रक्रियालाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ।
“यो पुस्तक नेपाललाई केवल एउटा गन्तव्यका रूपमा मात्र नभई संस्कृति, आध्यात्मिकता र मानवीय सम्बन्धले जीवन्त बनेको साझा संसारका रूपमा हेर्न गरिएको निमन्त्रणा हो,” धौभडेलले भने।
तिहारपछि पुस्तक सार्वजनिक गर्न लागिएकाले यसले उत्सव र एकताको भावलाई निरन्तरता दिने उनको भनाइ छ। नेपालभित्र तथा विदेशमा रहेका नेपालीलाई परिवार, आस्था, स्मृति र अपनत्वसँग जोड्ने प्रयास पुस्तकमार्फत गरिएको उनले बताए।
यो तस्बिरपुस्तक धौभडेलको यही नामको फोटोग्राफी प्रदर्शनी परियोजनाको निरन्तरता हो। उक्त परियोजनाअन्तर्गत अमेरिकाको कोलोराडोस्थित अरोरा हिस्ट्री म्युजियममा सन् २०२५ को फेब्रुअरी १८ देखि जुन १५ सम्म नेपाली पर्वसंस्कृतिका तस्बिर प्रदर्शनी गरिएको थियो। उनका तस्बिर सोनी अल्फा युनिभर्समा पनि प्रकाशित भएका छन्।
भक्तपुरमा जन्मिएका दृश्य कथाकार, फोटोग्राफर तथा अर्थशास्त्री धौभडेलले आफ्नो सिर्जनात्मक अभ्यासमा संस्कृति, पहिचान, स्मृति र समावेशिताका विषयलाई समेट्दै आएका छन्। नेपाल, बेलायत र अमेरिकामा हासिल गरेको शिक्षा तथा कार्यानुभवले उनको दृष्टिकोण निर्माणमा योगदान पुर्याएको पुस्तकसम्बन्धी विवरणमा उल्लेख छ।
पुस्तकमार्फत अन्तर्राष्ट्रिय पाठक, प्रवासी नेपाली, सांस्कृतिक संस्था, शिक्षाविद्, पुस्तकालय, संग्रहालय तथा फोटोग्राफीप्रेमीसँग नेपालको सांस्कृतिक सम्पदाबारे संवाद विस्तार गर्ने लक्ष्य राखिएको छ। अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, पुस्ताबीच ज्ञान र सीपको आदानप्रदान तथा सांस्कृतिक पर्यटनबारे सचेतना बढाउन पुस्तकले सहयोग पुर्याउने अपेक्षा धौभडेलको छ।
लोकार्पणपछि पुस्तक मोना/काठमाण्डौ आर्ट हाउसबाट खरिद गर्न सकिनेछ। अनलाइन खरिदका लागि भने ब्लर्बको वेबसाइटमा पुस्तक उपलब्ध गराइएको छ।
लेखकसँगको अन्तरक्रिया, प्रदर्शनी तथा हस्ताक्षरसहितका प्रतिसम्बन्धी थप जानकारी धौभडेलको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।