म्याग्दी । निर्माण सुरु भएको करिब डेढ दशकपछि म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाले परीक्षण अवधि पूरा गरी उत्पादन थालेको रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।
आयोजनाको निर्माण ठेकेदारको कमजोर आर्थिक अवस्था, ठेक्का रद्द, पुनर्संरचना, कोरोना महामारी, बाढीपहिरो, निर्माण सामग्री अभावलगायत कारणले लामो समय प्रभावित भएको थियो। सुरुमा ३२ मेगावाट क्षमतामा अघि बढाइएको आयोजनालाई पुनर्संरचना गरी ४० मेगावाट बनाइएको हो।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध निर्माण गरिएको आयोजनाको मुख्य सुरुङ ६ किलोमिटर २७० मिटर लामो छ। विद्युत्गृह वडा नं ३ तिल्केनीचौरमा रहेको छ। आयोजनाबाट वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले २०६७ कात्तिक १८ गते भारतीय कम्पनी आइभीआरसीएलसँग दुई अर्ब ५० करोड रुपैयाँमा निर्माण सम्झौता गरेको थियो। कम्पनीले काम गर्न नसकेपछि २०७२ सालमा ठेक्का रद्द हुँदा आयोजनाको भौतिक प्रगति १२ प्रतिशत मात्रै थियो। त्यसपछि २०७३ सालमा रघुगङ्गा हाइड्रोपावर स्थापना गरी कम्पनी मोडेलमा आयोजना निर्माण अघि बढाइएको थियो।
भारतीय कम्पनी जयप्रकाश एसोसिएट्ससँग २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा सिभिल निर्माण सम्झौता भएको थियो। इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले काम गरेको हो। आयोजनाको मुख्य सुरुङ २०८१ साउन १५ गते जोडिएको थियो।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट आयोजनालाई जिल्लाको जलविद्युत् विकासको प्रवेशबिन्दुका रूपमा लिइएको बताए। आयोजना सुरु भएपछि जिल्लामा भित्रिएका १० वटा जलविद्युत् आयोजना सम्पन्न भइसकेको उनको भनाइ छ। लामो प्रतीक्षापछि राहुघाटले उत्पादन सुरु गरेसँगै जिल्लामा उत्साह थपिएको उनले बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।