काठमाडौं । समस्याग्रस्त घोषणा गरिएका तीन सहकारी संस्थाको नाममा रहेका विभिन्न जिल्लाका २८ स्थानका जग्गा लिलाम बिक्री गरिने भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हाम्रो सगरमाथा बहुउद्देश्यीय, लालिगुराँस बहुउद्देश्यीय र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका नाममा रहेका जग्गा बिक्री प्रक्रिया अघि बढाएको हो।
समितिका अनुसार हाम्रो सगरमाथा सहकारीका गोरखास्थित दुई स्थान, लालिगुराँस सहकारीका गोरखा, चितवन, ललितपुर र सिन्धुपाल्चोकका ६ स्थान तथा गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका सिन्धुलीको जिनाखु–८ स्थित २० स्थानका जग्गा लिलाम गरिनेछ।
सहकारीका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकबाट असुल हुन बाँकी साँवा, ब्याज र हर्जाना उठाउन कानुनी प्रक्रिया अघि बढाउँदा पनि दायित्व पूरा नभएपछि संस्थाको नाममा रहेको सम्पत्ति बिक्री गर्न लागिएको समितिले जनाएको छ।
जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था तथा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रमा समितिले निर्धारण गरेको न्यूनतम मूल्यभन्दा कम रकम प्रस्ताव गर्न पाइने छैन।
सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ अनुसार अघि बढाइएको यस प्रक्रियामार्फत सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता गर्ने समितिको उद्देश्य छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।