मंगलवार, माघ २२,२०८१ 09:37:47
IME remit
  • मंगलवार, माघ २२,२०८१ 09:37:47
IME remit
Global IME Bank Limited

बीमा अभिकर्ता पेसाबाटै मासिक २ लाख कमाइ, काठमाण्डौमा जोडिन् जग्गा र गाडी

कविता भन्छिन्-‘महिलाहरुलाई अभिकर्ता पेसा उपयुक्त अवसर हुन सक्छ’

Hyundai Nepal
बीमा अभिकर्ता पेसाबाटै मासिक २ लाख कमाइ, काठमाण्डौमा जोडिन् जग्गा र गाडी
Nabil Bank Limited

– मनिष सोती

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–८ पशुपतिकी कविता मोक्तान पहिले बीमा अभिकर्ता पेसालाई लिएर सामान्य धारणा राख्थिन्। अहिले यही पेसाबाटै कविताको जीवनशैली सोचेभन्दा ठूलो परिवर्तन भएको छ। 

बीमा अभिकर्ता पेसामा लागेर पनि लाइफ स्टाइल चेन्ज हुन्छ र ? विलासी जीवन जीउन सकिन्छ र ? भन्नेजस्ता आम बुझाई अझै पनि कायम छ। तर, यस्तो बुझाइलाई ठीकविपरीत सावित गर्न सफल भएकी छन्, कविता। 

बीमा क्षेत्रमा आबद्ध भएको छोटो समयमै आफूलाई धेरै कुराको उपलब्धि भएको कविता सुनाउँछिन्। ‘यो पेसामा लागिसकेपछि आर्थिक पाटो बलियो हुनुका साथै धेरै कुरा सिक्ने अवसरसमेत मिलेको छ’, उनी भन्छिन्। 

कविता २०७६ सालमा बीमा अभिकर्ताका रुपमा बीमा क्षेत्रमा प्रवेश गरेकी थिइन्। तीन वर्षसम्म एउटा कम्पनीमा बीमा अभिकर्ताका रुपमा आबद्ध कविताले २०७९ सालमा मात्रै नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेकी थिइन्। त्यसपछि उनले धेरै कुरा अचिभमेन्ट गरेकी छन्। 

गत वर्ष असारमा कविता नेसनल लाइफको कलंकी शाखामा अभिकर्ताका रुपमा आबद्ध भएकी हुन्। जुन शाखाले ‘टप सेकेन्ड ब्रान्च’को समेत अवार्ड जितिसकेको छ। 

बीमा अभिकर्ताको पेसा अँगालेपछि बोल्ने शैलीको विकास, व्यक्तित्व विकास, आर्थिक स्तरमा सुधारलगायत धेरै कुरा प्राप्ति हुने कविताको अनुभव छ। ‘मानिसको जीवनमा आवश्यक पर्ने भनेकै नाम, दाम, काम र इज्जत हो, यो सबै कुरा बीमा अभिकर्ताको पेसाबाट मिलेको छ’, उनी भन्छिन्, ‘योसँगै अभिकर्ता पेसामा आबद्ध भएपछि सेवा गरिरहेकी छुजस्तो पनि अनुभव हुन्छ, किनकि उच्च आयस्रोत भएकादेखि लिएर न्यून आय भएकाहरुलाई हामीले बीमाका बारेमा बुझाएर बीमा गर्न प्रेरित गरेका हुन्छौँ, जुन मानिसका लागि अहिले अत्यावश्यक छ।’

अभिकर्ताको पेसा अँगाल्नुभन्दा पहिला कविताको आफ्नै बिजनेस थियो। ‘बेवी डाइपर्स डिलर’मा उनले ७ वर्षसम्म मार्केटिङ गरेकी थिइन्। ‘तर, मेहनत र लगनअनुसारको फल पाएकी थिइनँ’, उनले भनिन्, ‘बीमा क्षेत्रमा लागिसकेपछि फुल स्याटिसफाइड छु।’

बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै कविताले काठमाण्डौमा १ रोपनी जग्गा, गाडी र स्कुटर जोडिसकेकी छन्। ‘श्रीमानलाई समेत मेरै कमाइबाट बाइक गिफ्ट गरिसकेको छु’, उनी भन्छिन्, ‘पहिला फुलटाइम दिएर काम गर्दा पनि जम्मा ४०–५० हजार जति मासिक कमाइ हुन्थ्यो। यो पेसामा आबद्ध भएपछि पहिला जसरी फुलटाइम पनि दिनुपर्दैन साथै पहिलाको तुलनामा उत्कृष्ट कमाइसमेत भएको छ।’ 

अभिकर्ता पेसा आबद्ध भएपछि सुरुआतमा कविताले मासिक ४०–४५ हजार रुपैयाँ कमाइ गर्थिन्। कविता अहिले मासिक २ लाख रुपैयाँ बढी आम्दानी गर्छिन्। 

हाल कविता ‘राइजिङ स्टार’ टिममा ६० जनाको लिड गरिरहेकी छन्। आफूलगायत टिमबाट उनले १ करोड रुपैयाँ बढीको बिजनेस भित्र्याइसकेकी छन्। यसका साथै यस वर्ष आफू देशभरिबाट पहिलो हुनेसमेत उनको टार्गेट छ।

एक वर्षमा ८० वटासम्म पोलिसी बिक्री गरेकी कविताले आगामी वर्ष १०० प्लस पोलिसी बिक्री गर्ने लक्ष्य लिएकी छन्। हालसम्म व्यक्तिगत कोडबाट ७० लाख रुपैयाँको प्रिमियम भित्र्याइसकेकी कविता दुईपटक एमडीआरटीका लागिसमेत क्वालिफाई भइसकेकी छन्। पहिलोपटक एमडीआरटीमा क्वालिफाई हुँदा कविताले आफूलाई रजिस्टर गरेर अमेरिकाबाट एमडीआरटीको सर्टिफिकेटसमेत अचिभ गरिसकेकी छन्। जुन बीमा अभिकर्ताका लागि यो सबैभन्दा ठूलो सफलता हो। 

‘एमडीआरटीका लागि क्वालिफाइड हुने त हजारौँ हुन्छन् तर रजिस्टर १५–२० प्रतिशतले मात्रै गर्छन्’, कविताले भनिन्, ‘क्वालिफाइडको मात्रै भ्यालु हुँदैन, आफूलाई रजिस्टर गर्ने अझ एमडीआरटी कन्फ्रेन्समा सहभागी भए, त्यो नै ठूलो सफलता हो।’ 

‘अभिकर्ताले एमडीआरटीको लक्ष्य त पूरा गर्छ तर आफूलाई रजिस्टर गर्दा अमेरिकाबाट सर्टिफिकेट प्राप्त हुने कुराको खासै मतलब राख्दैन’, उनी भन्छिन्, ‘यो कुरालाई प्रोमोट गर्नु आवश्यक छ।’ 

रामेछापमा जन्मिएकी कविताको विवाहपश्चात् अहिले काठमाण्डौ–८ मा घर छ। चारजनाको परिवारमा आफूलाई यो पेसामा लाग्न सबैबाट सपोर्ट मिलेको कविता बताउँछिन्। ‘अहिले मेरो परिवारमा श्रीमान, एक छोरा र सासु हुनुहुन्छ’, उनी भन्छिन्, ‘छोरा जन्मिएको ५–६ महिनादेखि नै बीमा क्षेत्रमा सक्रिय अभिकर्ताका रुपमा आबद्ध छु, यसमा मेरो श्रीमान र सासुले एकदमै सपोर्ट गर्नुभएको छ। अहिले धेरै अचिभमेन्ट प्राप्त गरेको देखेर परिवारका सबै सदस्य खुसी हुनुहुन्छ, साथै छरछिमेकलाई समेत प्रेरित गर्न सक्ने भएको छु।’ 

बीमा क्षेत्रको यात्रा 

सफल अभिकर्ता जेनिमाया घिसिङका माध्यमबाट बीमा क्षेत्रमा प्रवेश गरेकी कविताले विभिन्न विधाका अवार्डहरुसमेत प्राप्त गरिसकेकी छन्। उनलाई यो स्थानसम्म ल्याउन सीमित व्यक्तिहरुको ठूलो हात रहेको उनी बताउँछिन्। ‘आज मेरो यो सफलताको सम्पूर्ण श्रेय जेनिमाया घिसिङ म्याम, सुमन श्रेष्ठ सर, कलंकी शाखा प्रमुख आरसी घिमिरे सर र मलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई दिन चाहन्छु’, उनले भनिन् ‘जेनिमाया म्यामले मलाई यो क्षेत्रमा आउन प्रेरित गर्नुभयो भने सुमन सर र आरसी सरले मलाई लिड गरेर अगाडि बढ्न सहयोग गर्नभयो। उहाँहरु सबैका कारणले आज मलाई यो सबै उपलब्धि प्राप्त भएको छ।’

कवितालले ‘करोड क्रस अचिभर, हाइयस्ट पोलिसी अचिभर, कलंकी शाखाअन्तर्गत आर्थिक वर्ष २०७–८० मा उत्कृष्ट कार्य सम्पादन गर्दै सञ्जाल व्यवसायतर्पm दोस्रो स्थान हासिल, एमडीआरटी २०२३ का लागि क्वालिफाइडजस्ता विभिन्न अचिभमेन्ट प्राप्त गरिसकेकी छन्। 

‘न्यून आय भएकालाई बीमा अझ आवश्यक छ’

बीमा क्षेत्रमा प्रवेश गरेको ४ वर्षमा कविताले धेरै खालका मासिनको बीमा गराइसकेकी छन्। उच्च आयस्रोत भएका तथा धनाढ्यहरुले त बीमा गर्छन् नै तर न्यून वर्गीय परिवारको बीमा हुनु अतिआवश्यक रहेको कविताको भनाइ छ। ‘बीमा बचतका साथै जोखिमको पनि बहन गर्ने माध्यम भएकोले न्यून वर्गीय परिवारलाई बीमा अझ आवश्यक छ’, कविता भन्छिन्, ‘थोरै–थोरै रकम जम्मा गरेर पनि बीमा गर्न सकिन्छ। जस्तै– दैनिक १०० रुपैयाँ जम्मा गरेर वर्षको ३६ हजार प्रिमियम तिर्ने गरी ५ लाख रुपैयाँको ढुक्कले बीमा गर्न सकिन्छ।’ 

कविताले ठेलामा तरकारी बेच्नेदेखि लिएर ठूला व्यापारीहरुको समेत बीमा गराइदिएकी छिन्। 

‘बीमा गराउनुअघि बीमितलाई प्रस्ट बुझाउनुपर्छ’

केही अभिकर्ताले बीमा गर्नुअघि बीमाका बारेमा प्रस्ट बुझाउन नसक्दा बीमितहरुको बुझाइमा फरक पर्न गएको कविताको बुझाइ छ। ‘विशेषगरी कम्पनीको बोनसदरको विषयलाई लिएर अभिकर्ताहरु स्पष्ट हुनुपर्छ’, उनले भनिन्, ‘बीमा गराउनुअघि अभिकर्ताले बीमा गरेको पैसाको डबल रकम आउँछ भनेर बीमितलाई कन्भिन्स गर्न हुँदैन, कम्पनीको बोनस रेट कति छ, गणना गरेर बीमितलाई बुझाउन सक्नुपर्छ।’ 

यसका साथै यसरी गतल व्याख्या गरी बीमा गराउँदा बीमितहरुबाटै सरेन्डर हुने र कम्पनी तथा अभिकर्तालाई ठगीको आरोपहरु आउने गरेको कविताले बताइन्। ‘बीमाको म्याचुरिटी पछि बोनसदरका आधारमा क्याल्कुलेसन भएर आउने हो, २० को ४० आउँछ भनेर कसैलाई बुझाउनु हुँदैन’, उनले भनिन्, ‘यस्तो खालको झुटो बुझाइले गर्दा आज सिंगो अभिकर्ता पेसामा नै धज्जी उड्न सक्ने अवस्था आउन सक्छ।’ 

‘अभिकर्ता कर्जा व्यवस्था बन्द नभए राम्रो हुन्थ्यो’ 

बीमा अभिकर्ताहरुलाई अभिकर्ता लोनको समेत व्यवस्था रहेको थियो। अभिकर्तालाई घर कर्जालगायत सवारीसाधन खरिदजस्ता कर्जाको व्यवस्था थियो। नेपाल बीमा प्राधिकरणले यस्तो कर्जाले विकृति बढाएको भन्दै यो व्यवस्था बन्द गरिदिएको थियो। 

कविताले भने यस्तो कर्जाको व्यवस्था बन्द हुँदा लामो समयदेखि यसै पेसामा आबद्ध भएका अभिकर्तामाथि अन्याय भएको बताइन्। ‘अभिकर्ता लोन सबैलाई बाँडेर हुँदैन, एजेन्टको ब्याकग्राउन्ड हेरेर यही पेसामा खटिनेलाई मात्रै यस्तो लोन दिने व्यवस्था भएमा राम्रो हुने थियो’, उनले भनिन् ‘यही पेसामै केही गर्छु भन्ने अभिकर्ताका लागि कर्जा सुविधाले अझै प्रेरित गर्न सक्थ्यो।’ 

बैंक र बीमाबीचको धारणा 

बैंक र बीमाबीचको धारणामा अझै पनि सर्वसाधारण स्पष्ट हुन नसकेको कविता बताउँछिन्। बैंक र बीमा दुवैले बचत गरे पनि बीमाले जोखिमसमेत बहन गर्छ भन्नेमा बीमितहरु प्रस्ट हुन आवश्यक रहेको कविता बताउँछिन्। ‘पछिल्लो समय बैंकहरुले समेत विभिन्न स्किममा बीमाको सुविधा ल्याइरहेका हुन्छन्, यसले गर्दा बीमितहरुमा बैंकमै बीमाको सुविधा पाइने भएपछि किन बीमा गर्ने भन्ने खालका कुराहरु आइरहेका हुन्छन्’, कविताले भनिन्, ‘तर, बीमा बचतसँगै जोखिम बहन, सुरक्षा र बचत पनि हो भनेर अभिकर्ताले बुझाउन सक्नुपर्छ।’ 

बैंकभन्दा बीमा अझ फरक र बढी फाइदाजनक रहेको कविताको तर्क छ। ‘बीमामा ‘मनी क्याक प्लान’ योजनामा पैसा रिटर्न पनि हुन्छ, यसले ठूला व्यापारीका लागि सहयोगसमेत मिल्छ’, उनले भनिन्, ‘यसले गर्दा बीमा अझ फाइदाजनक छ।’ 

‘बीमा गराउन सहज छ, महिलाहरुका लागि यो उपयुक्त अवसर हुन सक्छ’

पछिल्लो समय बीमा गराउन मानिसहरुलाई धेरै कन्भिन्स गर्न नपर्ने कविता तर्क गर्छिन्। बीमाका बारेमा राम्रो ज्ञान हासिल गरेर बीमितलाई बुझाउँदा बीमा गर्न प्रेरित हुने कविता दाबी गर्छिन्। ‘भूकम्प र कोभिडपछि बीमा गर्नुपर्छ भनी मानिसहरुमा मान्यता पलाइसकेको छ, यसले गर्दा अहिलेको अवस्थामा बीमा गराउन खासै कन्भिन्स गर्नुपर्दैन’, कविता भन्छिन्, ‘साथै, बीमा कम्पनीहरुले पनि बीमा जागरणका कार्यक्रमहरु ल्याइरहेका छन् कहीँ न कतैबाट सर्वसाधारणमा बीमाको महत्व छाप परिसकेको छ, यसले गर्दा पहिलेको जस्तो बीमा गराउन अप्ठ्यारो अवस्था छैन।’

यसका साथै बीमा अभिकर्ता पेसा महिलाहरुका लागि उपयुक्त अवसर रहेको कविता बताउँछिन्। ‘प्लस टु तह, स्नातक तह पास गरेका केही महिला केवल गृहणीका रुपमा मात्रै सीमित छन्’, उनी भन्छिन्, ‘यो पेसामा अन्य तलबी कामजस्तो फुलटाइम पनि दिनुपर्दैन। खाली समयमा पनि फेसबुक, टिकटकमा आफ्नो समय बिताइरहेका हुन्छन्, यसरी समय खेर फाल्नुभन्दा अभिकर्ता पेसा अँगालेर फेसबुक, टिकटकजस्ता प्लेटफर्ममार्फत बरु बीमा पोलिसीका बारेमा पनि प्रचार गर्न सकिन्छ।’

आगामी यात्रा 

बीमा क्षेत्रले आफूलाई सोचेभन्दा बढी उपलब्धि दिएको बताउने कविता आगामी दिनमा पनि यही पेसामै सक्रिय भई लाग्ने बताउँछिन्। आगामी दिनमा बीमा क्षेत्रमा अझ उज्ज्वल भविष्य देखेकी कविताले बीमा अभिकर्ता पेसामा आबद्ध हुने चाहानेलाई प्रेरित गर्छिन्। ‘नेपालमा पनि स्कोप छ, अहिले कतिपय युवाहरु विदेशिएका छन्, नेपालमै बसेर अनलाइन तथा युट्युब च्यानलमार्फत पनि कतिले राम्रै कमाइ गरिरहेका छन्’, उनले भनिन्, ‘बीमा अभिकर्ता पेसा पनि बाहिरबाट हेर्दा खासै केही लाग्दैन तर आफ्नो लगनशीलता कायम गरी मेहनत गर्ने हो भने यो पेसाले पनि धेरै उपलब्धि दिनेछ।’ 

Bizshala
CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.