काठमाण्डौ।सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलको मूल्य लिटरमा चार रूपैयाँ ४८ पैसा र डिजेलको दुई रूपैयाँ ८३ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।
निगमले तोकिएको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। मूल्य बढाएपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ। सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।
डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ।