काठमाण्डौ। नेपालले एक वर्ष अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ११ हजार ४ सय ४० किलोलिटर बराबर डिजेल आयात गरेको हो।
भन्सार विभागका अनुसार २०७९/८० मा १४ लाख ८ हजार ४ सय ९४ किलोलिटर डिजेल आयात भएको थियो।
अघिल्लो आव २०७९/८० मा १ खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँको डिजेल आयात भएकोमा यस वर्ष १ खर्ब ४३ अर्ब ९७ करोड बराबरको डिजेल आयात भएको छ। सोही प्रवृत्ति पेट्रोल र खाना पकाउने एलपी ग्यासमा समेत देखिएको छ।
जसमा २०७९/८० मा ६ लाख ८० हजार ८ सय ७ किलोलिटर पेट्रोल आयात गर्न ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ विदेशिएको थियो ।
२०८०/८१ मा भने ६ लाख ८७ हजार ९ सय ३१ किलोलिटर पेट्रोल आयात भएको छ। यसका लागि ६८ अर्ब ८४ करोड विदेशिएको छ।
यसैबिच खाना पकाउने ग्यासमा २०७९/८० मा ५१ करोड ४३ लाख ४० हजार किलो आयात हुँदा ५८ अर्ब १५ करोड विदेशिएको छ।
२०८०/८१ मा भने ५२ करोड ४२ लाख किलो एलपी ग्यास आयात हुँदा ५५ अर्ब ६१ करोडमात्र विदेशिएको तथ्यांकले देखाएको छ।