काठमाण्डौ ।युट्युबकी पूर्व सीईओ तथा लामो समय गुगलको कार्यकारी रहेकी सुसान वोजिकीको निधन भएको छ । फोक्सोको क्यान्सरसँग विगत २ वर्षदेखि जुधिरहेकी वोजिकीको ५६ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
उनको मृत्यु बारे उनका श्रीमान डेनिस ट्रोपरले फेसबुकमार्फत जानकारी दिएका छन् । डेनिस फेसबुकमा लेख्छन्, ‘सुसान वोजिकीको मृत्युको खबर दुःखका साथ सेयर गर्दै छु । २६ वर्षसम्म मेरी प्रिय पत्नीको रुपमा रहेकी र हाम्रा ५ वटा सन्तानकी आमाले हामीलाई छाडेर गएकी छन् ।’
वोजिकीको निधनप्रति गुगलका वर्तमान सीईओ सुन्दर पिचाईले समेत दुःख व्यक्त गरेका छन् । ‘व्यक्तिगत कठिनाईका बाबजुत पनि सुसानले विगत २ वर्षदेखि आफुलाई लागेको रोगबारे अनुसन्धानका लागि निकै सहयोग गरेकी छन् ’पिचाईले लेखेका छन् ।
प्राविधिक क्षेत्रकी अग्रेणी महिनामध्ये एक वोजिकी सन् १९९९ मा गुगलमा आवद्ध भएकी थिइन् । सन् २०१४ मा युट्युबको सीईओ बन्नुअघि उनी गुगलमा एड प्रडक्टको सिजियर भाइस प्रिसिडेन्टका रुपमा कार्यरत थिइन् ।
९ वर्ष कार्यकाल पछि उनी सन् २०२३ मा युटुबको सीईओ पदबाट मुक्त भएकी थिइन् ।