काठमाण्डौ । पाकिस्तानले आफ्नो पहिलो चन्द्र मिसन घोषणा गरेको छ । पाकिस्तानको ‘स्पेस एण्ड अपर एट्मसपियर रिसर्च कमिशन(सुपारको)’ले मंगलबार सन् २०२८ मा पहिलो चन्द्र लञ्च गर्ने घोषणा गरेको हो ।
पाकिस्तान र चीनले पाकिस्तानको पहिलो चन्द्रयान रोभरलाई चीनको चाङई८ मिसनको हिस्सा बनाउने सम्झौतामा हस्ताक्षर गरेसँगै पाकिस्तानले पहिलोपटक चन्द्र मिसन घोषणा गरेको हो ।
चाङई८ मिसन सन् २०२८ मा लञ्च हुने कार्यतालिका रहेको छ । यो मिसनको मुख्य उद्देश्य चन्द्रमाको दक्षिण धुव्रमा रोबोटिक खोज गर्नु रहेको छ ।
आमसर्वसाधारणलाई ऐतिहासिक पलको हिस्सा बनाउन सुपारकोले पाकिस्तानको चन्द्रयानको नाम राख्न राष्ट्रव्यापी प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । यसको विजेताले १ लाख पाकिस्तानी रुपियाँ पाउने पाकिस्तानी मिडियाले जनाएका छन् ।
सुपारकोले विकास गरेको रोभर चन्द्रमाको दक्षिणी धुव्रमा तैनाथ गरिनेछ ।
पाकिस्तानले सन् २०२२ को मे महिनामा आफ्नो पहिलो चन्द्र सेटेलाइट लञ्च गरेको थियो ।