काठमाण्डौ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । यसको जानकारी समाचार एजेन्सी रोयटर्सले यस मामिलासँग परिचित स्रोत र ज्ञापनलाई उद्धृत गर्दै दिएको हो।
रिपार्टका अनुसार अमेरिकाले ४१ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ। पहिलो समूहमा १० देश समावेश छन्। जसमा अफगानिस्तान, भुटान, इरान, सिरिया, क्युवा र उत्तर कोरिया र अन्य देशहरू पर्छन्। उनीहरुको भिसामा पूर्ण प्रतिबन्ध लगाइने बताइएको छ ।
दोस्रो समूहमा पाँच देशको नाम समावेश छ। यसमा इरिट्रिया, हाइटी, लाओस, म्यानमार र दक्षिण सुडान पर्छन्। यी देशहरूले आंशिक निलम्बनको सामना गर्नेछन् । जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई असर गर्नेछ।
तेस्रो समूहमा जम्मा २६ देश समावेश छन्। जसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान लगायतका केही देशहरू पर्छन्।
यदि यी देशका सरकारले ६० दिनभित्र कमजोरी सच्याउन पहल गरेनन् भने ती देशहरूलाई भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने जनाइएको छ । यस सूचीमा परिवर्तन हुन सक्ने रिपोर्टमा जनाइएको छ । यो सूची अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी छ।