काठमाण्डौ । चीनमा मासु निर्यात गर्दै आएका अमेरिकी कम्पनीहरु जोखिममा परेका छन् । करिब १ हजारभन्दा बढी मासु निर्यातकर्ताहरुको दर्ताको अवधि आइतबार समाप्त भएसँगै अमेरिकी मासु निर्माता कम्पनीहरु संकटमा परेका हुन् ।
२०२० फेज वान अन्तगर्त चीनले अमेरिकी कम्पनीहरुलाई चीनमा मासु निर्यात अनुमति दिएको थियो । चीनको भन्सार कार्यालयको वेबसाइटमा पोर्क, बिफ र पोल्ट्री उत्पादक प्रमुख अमेरिकी कम्पनीहरु टाइसन फुड्स,स्मिथ फुड प्याकेज्ड मिट एण्ड कारगिल मिट सोलुसनको रजिष्ट्रेशन स्टाटस ‘इफेक्टिभ’ बाट ‘एक्सपायर्ड’मा परिवर्तन गरिएको छ ।
फेब्रुअरीमा करिब ८४ कम्पनीहरुको रजिष्ट्रेशन समाप्त भएको छ । तर भन्सारबाट यी कम्पनीहरुको सामान पास भईरहेको जनाइएको छ । तर चीनले कहिलेसम्म आयातलाई अनुमति दिने भन्ने बारे निश्चित भने छैन । चीनमा खाद्यान्न निर्यात गर्नेहरुले त्यहाँको भन्सारमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ ।
कुल दर्ता भएका दुई–तिहाई कम्पनीको रजिष्ट्रेशन सकिएसँगै अमेरिकी कम्पनीहरुको पहुँच विश्वको सबैभन्दा ठूलो मासु बजारमा कम हुनेछ । यसले अमेरिकी कम्पनीलाई ५ अर्ब डलर घाटा हुनेछ । चीनले केही दिनअघि २१ अर्ब डलरबराबरको अमेरिकी वस्तुहरुमा ट्यारिफ लगाउने घोषणा गरेको थियो ।
सन् २०२४ मा अमेरिका, चीनमा मासु निर्यात गर्ने तेस्रो ठूलो आपूर्तिकर्ताको रुपमा रहेको थियो । पहिलो र दोस्रो स्थानमा भने ब्राजिल र अर्जेन्टिना रहेका छन् । सो वर्ष अमेरिकाबाट ५ लाख ९० हजार टन मासु चीन निर्यात भएको थियो । जुन चीनको कुल आयातको ९ प्रतिशत हो ।
रकमको आधारमा भने अमेरिका दोस्रो ठूलो आपूर्तिकर्ता हो । गत वर्ष अमेरिकाले २.५ अर्ब डलरबराबरको मासु निर्यात गरेको थियो ।