काठमाण्डौ । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । भारले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले २३ अप्रिलमा एक पत्रकार सम्मेलन आयोजना गर्दै भारतमा रहेका सबै पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएका हुन् ।
साथै, पाकिस्तानका लागि जारी गरिएका सबै भिसाहरू रद्द गरिएको छ र पाकिस्तानी नागरिकहरूलाई भविष्यमा भारत प्रवेश गर्न रोक लगाइएको छ ।
विदेश सचिव मिश्रीले कूटनीतिक सम्बन्धमा थप कटौती गरेर पाकिस्तानी र भारतीय उच्चायोगमा तैनाथ हुनेको संख्या ५५ बाट ३० मा झार्ने बताए ।
मिश्रीले सार्क भिसा छुट योजना(एसवीईएस)अन्तर्गत पाकिस्तानी नागरिकहरूलाई भारत भ्रमण गर्न अनुमति नदिइने र एसवीईएस भिसा अन्तर्गत भारतमा रहेका कुनै पनि पाकिस्तानी नागरिकलाई भारत छोड्न ४८ घण्टा को अल्टिमेटम दिएका छन् । सीसीएसलाई दिइएको जानकारीमा पहलगाम हमलाको सीमापार सम्बन्धलाई उजागर गरिएको थियो, त्यसपछि पाकिस्तानविरुद्ध कारबाही गर्ने निर्णय गरिएको मिश्रीले बताए।
भारतको यो कदमले भारत पाकिस्तानबीच अवस्थित केही कूटनीतिक संयन्त्रहरू बन्द हुनुका साथै द्विपक्षीय सम्बन्ध न्यूनस्तरमा पुगेको छ ।
बुधबार बसेको भारतको मन्त्रीपरिषद्को बैठकले सिन्धु जल सम्झौता तोड्ने लगाएका विभिन्न पाँच वटा निर्णय समेत गरेको छ । बैठकले भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज गर्ने, अटारी सीमानाका बन्द गर्ने ,भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन दिने, पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय दिने र हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने निर्णय गरेको छ ।