काठमाण्डौ । डेल्टा एयरलाइन्स र कोरियन एयरलाइन्सले क्यानडाको हवाई कम्पनी वेष्टजेट एयरलाइन्सको २५ प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ ।
दुवै कम्पनीले निजी अमेरिकी कम्पनी ओनेक्स कर्पमार्फत ५५० मिलियन डलरमा २५ प्रतिशत स्वामित्व अधिग्रहण गर्न लागेका हुन् । जसमा डेल्टाले १५ प्रतिशत स्वामित्वका लागि ३३० मिलियन डलर लगानी गर्नेछ र कोरियन एयरले १० प्रतिशत ब्याजसहित २२० मिलियन डलर प्रदान गर्नेछ ।
यस्तै ओनेक्स कर्पले आफ्नो संयुक्त साझेदार एयर फ्रान्सलाई पनि ५० मिलियन डलरमा वेष्टजेटको २.३ प्रतिशत स्वामित्व हस्तान्तरण गर्ने योजना बनाएको छ ।
सन् २०११ देखि डेल्टा र कोरियन एयरसँग थुप्रै साझेदारी भएको वेष्टजेटको स्वामित्व र नियन्त्रण भने ओनेक्सले नै गर्ने डेल्टाले जनाएको छ ।
वेष्ट एयरलाइन्सले ट्रम्पको ट्यारिफ नीतिका कारण अमेरिका यात्राको बुकिङमा कमीको सामना गरिरहेको बेला यो सम्झौता भएको हो ।
क्यानडाको सबैभन्दा ठूलो हवाई कम्पनी एयर क्यानडा र वेष्टजेटले आफ्नो वार्षिक अनुमानित नाफा घटाएका छन् ।