काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी जेठ २६ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ८ प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सातौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको ७ प्रतिशतबराबरको हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा प्रस्तावित बोनस वितरणपश्चात नियामकले तोकेबमोजिम चुक्तापूँजी पुग्ने भएकाले उक्त निर्णय रद्द गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चाकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।