काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले २५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।
आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल वाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहु(विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ ।
यो ३०० शैयाको अस्पतालमा स्तरोत्रति गर्ने प्रक्रियामा छ, जुन नेपालको पहिलो र अग्रणी कर्पोरेट अस्पतालको रुपमा रहेको छ । अस्पतालले अत्याधुनिक पूर्वाधार, चिकित्सा प्रविधि, दक्ष जनशक्ति तथा निरन्तर लगानीको साथ, विरामीहरुले काठमाडौंमा नै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने कुरा सुनिश्चित गर्दै आएको छ ।