काठमाण्डौ ।अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो एक घण्टाको अपडेटअनुसार सुनको मूल्य एक प्रतिशतभन्दा बढीले बढ्दै नयाँ उच्च स्तरमा पुगेको छ।
goldprice.org का अनुसार, आज न्यूयोर्क समयानुसार राति १:४७ बजेसम्म सुनको मूल्य प्रति औंस ४,१४०.५८ अमेरिकी डलर पुगेको छ। अघिल्लो कारोबारको तुलनामा यो ४२.७८ डलरले (१.०४%) बढेको हो। पछिल्लो २४ घण्टामा सुनको मूल्य स्थिर रूपमा माथिल्लो दिशामा गएको देखिएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि समान उकालो आएको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रति औंस ४९.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन अघिल्लो मूल्यभन्दा ०.५९ डलर (१.२२%) बढी हो।
बजारमा पुनः उत्साह
बजार विश्लेषकहरूका अनुसार, अमेरिकी डलर केही कमजोर हुँदै जानु र विश्व बजारमा आर्थिक अनिश्चितता बढ्नुका कारण लगानीकर्ताहरू फेरि ‘सेफ हेवन’ धातुहरू(विशेषगरी सुन र चाँदी)तिर फर्किएका हुन्।
गत साता स्थिर रहँदै आएको सुनमा पुनः ४,१०० डलर माथिको उछालले बजारमा सकारात्मक संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
लगानीकर्ताको प्रतिक्रिया
अन्तर्राष्ट्रिय बजारमा देखिएको यो वृद्धिलाई लगानीकर्ताहरूले छोटो अवधिको सकारात्मक संकेतका रूपमा लिएका छन्। धेरैजसो विश्लेषकहरूले सुनको मूल्य निकट भविष्यमा ४,२०० डलर पार गर्न सक्ने सम्भावना औंल्याएका छन्।
नेपालमा पनि यो अन्तर्राष्ट्रिय वृद्धिको प्रभाव आजदेखि नै पर्ने अपेक्षा गरिएको छ। सुनको खुद्रा मूल्यमा तोलामा करिब १,५०० देखि २,००० रुपैयाँसम्म बढ्ने अनुमान गरिएको छ।