काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य गरी सरकारलाई पुनः खोल्ने विधेयकमा हस्ताक्षर गरेका छन् । ट्रम्पको हस्ताक्षरपछि ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट पारित यो विधेयक कानून बनेको छ । योसँगै अमेरिकी शटडाउन समाप्त भएको छ ।
बुधबार यो विधेयक ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट २२२–२०९ मतले पारित भएको थियो । त्यसको दुई दिनअघि मात्रै यो विधेयक सिनेटमा निकै कम मतान्तरले पारित भएको थियो ।
ओभल अफिसमा बोल्दै ट्रम्पले सरकारले अब सामान्य कार्यहरू पुनः सुरु गर्ने बताए। उनले ४३ दिनको बन्दबाट मानिसहरु नराम्ररी प्रभावित भएको बताए । अमेरिकामा धेरै सरकारी सेवाहरू अक्टोबरदेखि बन्द थिए र लगभग १४ लाख संघीय कर्मचारीहरू या त बिदामा थिए वा बिना तलब काम गरिरहेका थिए। खाद्यान्न सहायता कार्यक्रम पनि रोकिएको थियो र देशभर हवाई यात्रा अवरुद्ध भएको थियो ।
अब आगामी दिनमा सरकारी सेवा सुचारु हुने अपेक्षा गरिएको छ । यससँगै हवाई यात्रामा देखिएका समस्या पनि क्रमशः कम हुने सम्भावना छ । कर्मचारी अभावका कारण संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई उडान कटौती गर्नुपरेको थियो ।

