काठमाण्डौ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म साढे ७ अर्ब रुपैयाँ बढीको विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँबराबरको ३ हजार २०३ युनिट ईभी सवारी साधन आयात भएको हो ।
यसबाट सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ । कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । गत असोजमा भने २ हजार १३४ युनिट, साउन र भदौमा ४ सय ८६ युनिट ईभी नेपाल आयात भएका थिए।
यस अवधिमा इन्धनबाट चल्ने कारको आयात समेत वृद्धि भएको छ । तथ्यांकअनुसार पेट्रोलियम सवारी साधनको आयात गत वर्षको तुलनामा ५४.२५ प्रतिशतले बढेको छ । कात्तिकमा २ अर्ब २९ करोड रुपैयाँ बराबरको कुल २ हजार ४६५ युनिट कम्बस्चन कार आयात भएको विभागले जनाएको छ ।
विभागका अनुसार यो अवधिमा ५ हजार ६६८ युनिट पेट्रोलियम कार आयात भएको छ । यस अवधिमा दुई पाँग्रे सवारी साधनको आयात पनि २५।६८ प्रतिशत वृद्धि भएको छ । कात्तिकसम्म १ लाख ६ हजार ७६८ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएको छ ।

