काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को साधारणसभामा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगायतका उच्चपदस्थ कर्मचारी पक्राउ परेको विषयमा कुनै पनि बैंकरले एक शब्द पनि नबोलेका खुलेको छ ।
पत्रकारहरुलाई निमन्त्रणा नगरी बुधबार साँझ आयोजना गरिएको एनबीएको साधारणसभामा सहभागी वक्ता बैंकरहरुले प्रभू बैंकका सीईओ तथा सो बेलासम्मका आफ्ना कार्यसमिति सदस्य अशोक शेरचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको विषयमा एक शब्द पनि नबोलेका खुलेको हो ।
सिंगो बैंकिङ क्षेत्र नै तरङ्गित बनेको प्रभू बैंकका सीईओ, डिसीईओ पक्राउ प्रकरणमा एनबीएको एजीएमको उद्घाटन समारोहमा सहभागी वक्ताहरुले नबोलेका मात्र होइन, प्रहरी हिरासतमै रहेको बेला अशोक शेरचनलाई कार्यसमिति सदस्यबाट समेत हटाइएको छ ।
स्रोतकाअनुसार एनबीएको साधारणसभामा अध्यक्षको हैसियतले सन्तोष कोइराला, उपाध्यक्षको हैसियतले सुरेन्द्रराज रेग्मी, पूर्वअध्यक्षको हैसियतले ज्ञानेन्द्र ढुंगाना र निवर्तमान अध्यक्षको रुपमा सुनिल केसीले बोलेका थिए । राष्ट्रबैंकको तर्फबाट गभर्नर विश्वनाथ पौडेलले साधारणसभालाई सम्बोधन गरेका थिए । 'यी कुनै पनि वक्ताले सम्बोधनका क्रममा प्रभू बैंकका सीईओ पक्राउ प्रकरणको विषयमा चुइक्क बोलेनन् । अन्य व्यवसायिक विषयमा र मुलुकका आर्थिक तथा बैंकिङ अवस्थाको विषयमा मात्र विचारहरु व्यक्त भए ।'-स्रोतले भन्यो ।
सो समारोहमा एनबीएले पूर्व अध्यक्षहरुको तर्फबाट ज्ञानेन्द्र ढुंगाना र सुनिल केसीलाई सम्मान गरेको थियो ।
यस्तै, बैंक सञ्चालक समितिका पूर्व अध्यक्षहरुमध्येबाट माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष डा. उपेन्द्र महतोलाई सम्मान गरिएको थियो ।
खाँटी बैंकरहरुले प्रभू बैंक प्रकरणको विषयमा केही नबोले पनि व्यवसायी समेत रहेका डा. महतोले भने घुमाउरो ढंगले सम्बोधन गर्न भ्याएका थिए । 'घर बनाउने क्रममा एकदुईजना लडे भन्दैमा बाँकी ज्यामीहरुले घरै बनाउन छाड्नुहुँदैन । तपाईहरुले उच्च आत्मविश्वासका साथ काम गर्नुपर्छ । बैंकिङ क्षेत्रलाई चलायमान बनाइराख्न तपाईहरुको उर्जाशील भूमिका आवश्यक पर्छ । केही व्यक्तिले फट्याइँ गरे भन्दैमा अरु निराश हुनुपर्ने कारण छैन । दोषी देखिए उनीहरुमाथि कारबाही भइजान्छ, यसकै कारण निर्दोषहरु बढी प्यानिक भइरहनुपर्दैन ।'- उनले भनेका थिए ।
औपचारिक कार्यक्रमको सम्बोधनका क्रममा कुनै पनि बैंकर तथा वक्ताले(डा. महतोबाहेक) प्रभू बैंकका सीईओ अशोक शेरचन तथा सो प्रकरणको विषयमा नबोले पनि अनौपचारिक रुपमा भने त्यस विषयमा प्रशस्तै चर्चापरिचर्चा भएको थियो । अनौपचारिक रुपमा बैंकरहरुबाट प्रभू बैंकका सीईओ पक्राउ प्रकरणलाई विश्लेषण गर्ने काम भएको थियो । सो क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले जारी राखेको अनुसन्धानलाई प्रभावित गर्न नहुनेमा सबैको सहमति देखिएको थियो ।
'अनौपचारिक छलफलका क्रममा हामी सबै सीआईबीको अनुसन्धानलाई प्रभावित पार्ने गरी एनबीएले विज्ञप्तिबाजी नगरेर ठीक गरेको र यसमा सहयोग नै गर्नुपर्ने लगभग उस्तै धारणामा केन्द्रीत भएका थियौं ।' एक बैंकरले भने-'एनबीएको नेतृत्वलाई गभर्नर साबले पनि सीआईबीको अनुसन्धानमा आफूहरुको साथ र समर्थन रहेको बताउनुभएको रहेछ । उहाँले एनबीएलाई यो विषयमा नबोल्न र अनुसन्धानलाई प्रभावित नगर्न पनि भन्नुभएको रहेछ । नियामकले नै नबोल्नु भनेपछि एनबीए नेतृत्वले नबोल्नु नै ठीक देखियो ।'
अनौपचारिक छलफलका क्रममा एनबीएको टोली सीआईबी प्रमुख मनोज केसीलाई भेट्न गएको प्रसंग पनि उठेको थियो । सो क्रममा एआइजी समेत रहेका मनोज केसीले 'कडा शब्द'मा एनबीएका अधिकारीहरुलाई आफूहरुले जारी राखेको अनुसन्धानमा डिस्टर्ब नगर्न भनेका विषय पनि खुलेको थियो । 'सीआईबी प्रमुखले प्रभू बैंकका सीईओ डिसीईओ पक्राउ परेको विषय निकै गम्भीर प्रकृतिको फौजदारी अभियोगसँग सम्बन्धित रहेको बताएका रहेछन् । तपाईहरुले यो विषयलाई बाहिरबाट जति सहज बुझ्नुभएको छ, त्योभन्दा कयौं गुणा बढी गम्भीर इस्यू हो भन्नुभएको रहेछ ।' स्रोतले भन्यो-'एनबीएले सीईओजस्तो व्यक्तिलाई बाहिर राखेरै अनुसन्धान गरिदिन आग्रह गरेको रहेछ । त्यसमा सीआईबी प्रमुखले कडै शब्द प्रयोग गरेका कुरा पनि आयो ।'
सीआईबीलाई भेट्नुअघिसम्म एनबीए प्रभू प्रकरणमा आफ्नो स्ट्याण्ड क्लियर गरेर अगाडि बढ्ने मनस्थितिमा रहे पनि भेटपछि भने सबै निराश भएर फर्किएका थिए । सीआईबीका प्रमुखले अन्य बैंकमा भएका यस्ता कसूरहरुमा पनि अनुसन्धान भइरहेको र कसैलाई नछाड्ने घुमाउरो चेतावनी दिएपछि कतिपय बैंक डराएका समेत स्रोतको दाबी छ ।
यसैबीच, एनबीएले प्रहरी हिरासतमा रहेका प्रभू बैंकका सीईओ शेरचन, डिसीईओ मणिराम पोखरेल लगायतलाई भेटघाट गरेको समेत बुझिएको छ । रोचक संयोग त के भने शेरचनलाई भेट गरेर आएकै दिन उनलाई एनबीएको कार्यसमिति सदस्यबाट हटाएर नयाँ सदस्य थप गरिएको छ ।
एनबीएले यो बीचमा राष्ट्रबैंकमै गएर पनि यो प्रकरणमा छलफलहरु गरेको समेत खुलेको छ । सो क्रममा केन्द्रीय बैंकका अधिकारीहरु पनि प्रभू बैंकको प्रकरण निकै गम्भीर प्रकृतिको रहेको र सीआईबीले थप फाइलहरु पनि खोल्न थालेकोले उसलाई स्वतन्त्रपूर्वक काम गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित समाचारहरु:
-सम्पादकीय: संगठित बैंकिङ अपराधको जरो उखेल्ने समय, सीआईबी एक्लो छैन !
-कामू सीईओ पनि पक्राउ पर्ने भएपछि प्रभू बैंकमा अर्को भूकम्प, सीआईबी पुगे सञ्चालक
-प्रभू बैंकका उच्चपदस्थ पक्राउपछि राष्ट्रबैंकमा भूकम्प: सीआईबीको अपरेशनले 'त्रास' फैलाएकोमा चिन्ता
-अदालतले जोगायो, सीआईबीले समात्यो : अब शेरचनको ‘प्लान सी’ के होला ?

