Bizshala
  • आईतवार, पुष १३,२०८२ 07:11:44
Bizshala
Global IME Bank Limited

लगानीकर्ताको नजर चुनाव र स्थिर सरकारतर्फ, सन्तुलित सुधार भए नेप्से ३००० आसपास पुग्नसक्ने विज्ञको दाबी

Hyundai Nepal
लगानीकर्ताको नजर चुनाव र स्थिर सरकारतर्फ, सन्तुलित सुधार भए नेप्से ३००० आसपास पुग्नसक्ने विज्ञको दाबी
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनपछि देशको राजनीतिक परिदृश्य अझै स्पष्ट नबन्दा नेपालका सेयरबजारमा अनिश्चितता कायमै देखिएको छ। औसत रुपमा बजार अझै संवेदनशील अवस्थामा रहेको छ भने लगानीकर्ताको मनोबल पूर्ण रूपमा उकासिन सकेको छैन। राजनीतिक समाचार र नीतिगत निर्णयले बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले हाल लगानीकर्ताहरू ‘पर्ख र हेर’को मनोवृत्तिमा सीमित भएका छन्।

पछिल्लो समयको बजार चालले स्थिर सरकार, अनुशासित राजनीतिक वातावरण र समयमै निर्वाचनको स्पष्टता खोजिरहेको संकेत गर्छ। जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित निजी क्षेत्र र सेयर लगानीकर्ताहरूले सरकारप्रति अझै पूर्ण विश्वास गर्न नसकेको अवस्था देखिन्छ। यही कारण पछिल्ला दिनहरूमा बजारमा ठूला उतारचढाव देखिएका छैनन् र कारोबार रकम पनि उल्लेखनीय रूपमा बढ्न सकेको छैन। सूचक स-सानो अंकमा सीमित उतारचढाव देखिनु लगानीकर्ताको सतर्कता र प्रतीक्षारत अवस्थाको द्योतक हो।

यद्यपि, लामो समयपछि आज सेयरबजार ४७ अंकले उकालो लाग्दै २६ सय विन्दुमाथि पुगेको छ। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले प्रधानमन्त्रीसँग भेट गरी समयमै निर्वाचन गराउने प्रतिबद्धता जनाएपछि लगानीकर्तामा केही आशा पलाएको देखिन्छ। त्यसमाथि आजै रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच भएको ७ बुँदे सहमतिले पनि बजारको मनोबलमा थप सकारात्मक प्रभाव पारेको छ।

CG Motors
Bizshala
Garima Development Bank

फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समयमै हुने अपेक्षा जनस्तरमा बढ्दै गएको छ। यसले अन्यौलग्रस्त राजनीतिक अवस्था अन्त्य हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने विश्वास लगानीकर्तामा विस्तारै विकास गराइरहेको देखिन्छ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल राजनीतिक दलहरू निर्वाचन केन्द्रित बन्दै गएको कारण लगानीकर्ताको मनोबल बढ्न थालेको बताउँछन्। “केही दिनअघि ठूला दलका नेताहरूले प्रधानमन्त्रीसँग भेट गरी चुनावमै केन्द्रित रहने आश्वासन दिएका छन्, जुन समग्र देशका लागि सकारात्मक संकेत हो,” उनले भने, “सेयरबजारले मुख्य रूपमा समयमै चुनाव र त्यसपछिको स्थिर सरकार खोजिरहेको छ। फागुन २१ मै निष्पक्ष चुनाव हुने सुनिश्चितता बढ्दै जाँदा पछिल्लो राजनीतिक वातावरणले लगानीकर्तामा नयाँ उर्जा थपेको छ।”

ढकालका अनुसार बालेन साह र रवि लामिछानेबीच भएको ७ बुँदे सहमतिले पनि पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्तामा केही उत्साह थपेको छ। “युवापुस्ताले खोजेको संकेत आज देखिएको छ,” उनले भने, “बजारले अहिले को आउने भन्नेभन्दा पनि समयमै चुनाव र त्यसपछि स्थिर सरकार चाहेको हो। परिस्थिति यसैगरी सकारात्मक बन्दै गयो भने बजार क्रमशः माथि जान्छ र संस्थागत लगानीकर्ताको सहभागिता पनि बढ्नेछ।”

त्यसैगरी, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि लगानीकर्ताको प्रमुख अपेक्षा समयमै निर्वाचन र चुनावपछिको स्थिर सरकार नै भएको बताए। “दलहरूबीच सहमति र सहकार्य हुनु नयाँ कुरा होइन,” उनले भने, “अहिले सबै दल चुनाव केन्द्रित छलफलमा जुटेकाले बजारमा सकारात्मक छाप परेको हुन सक्छ। नयाँ-पुराना शक्तिको समिकरणपछि चुनावी परिणाम सकारात्मक आउने अपेक्षा आम लगानीकर्ताको हो।”

New Office
Laxmi Sunrise Bank Limited
IME remit

फुलेलका अनुसार केही समययता निरन्तर ओरालो लागेको बजारमा आजको सुधार र कारोबार वृद्धि सकारात्मक संकेत हो। “सेयरबजार अन्ततः अर्थतन्त्रसँग जोडिएको विषय हो,” उनले स्पष्ट पारे, “चुनावी गतिविधिसँगै अर्थतन्त्र चलायमान हुँदै जान्छ र त्यसको प्रभाव बजारमा पनि देखिन्छ। हाल अर्थतन्त्रका आधारभूत सूचकहरू क्रमशः सकारात्मक बन्दै गएका छन्, जसले बजारलाई टेवा दिन सक्छ। राजनीतिक पक्षले मुख्यतः लगानीकर्ताको मनोबलमा प्रभाव पार्छ।”

बजार विश्लेषक तथा प्राविधिक विश्लेषक अजय सिंह थापा (जय शम्भु) भने हालको बढोत्तरीलाई सामान्य सुधारको रूपमा हेर्नुपर्ने बताउँछन्। “बजार यसअघि ५-७ दिन लगातार घटेको थियो, त्यसपछि केही दिन बिक्री दबाब कम हुनु स्वाभाविक हो,” उनले भने, “आजको बढोत्तरीले बजारलाई केही दिनअघिको विन्दुमा मात्रै पुर्‍याएको हो। सकारात्मक समाचारले अलिकति अंक बढ्न सक्छ, तर दीर्घकालीन रूपमा बलियो आधार भने अझै बनेको छैन।”

थापाका अनुसार बजारले अघिल्लो उच्च विन्दु तोड्न सके मात्र दिगो वृद्धि सम्भव हुन्छ। “राजनीतिक समाचारले बजारलाई क्षणिक रूपमा चलायमान बनाए पनि यस्ता खबरको भर पर्न सकिँदैन,” उनले चेतावनी दिए, “५-६ दिन घटेको बजार दुई–चार दिन बढ्दैमा लगानीकर्ताको आत्मविश्वास पूर्ण रूपमा फर्किन्छ भन्ने अवस्था अहिले देखिँदैन।”

यद्यपि, सकारात्मक समाचार निरन्तर आइरहे र बजार दुई-तीन दिन लगातार उकालो लाग्न सकेमा लगानीकर्ताको मनोबल बढ्न सक्ने उनको अनुमान छ। “बजार सकारात्मक दिशामा अघि बढेमा २७५० देखि २८ सय विन्दुसम्म पुग्न सक्छ,” उनले भने, “धेरै राम्रो भए ३ हजार आसपास देखिन सक्छ, तर त्यसभन्दा माथि जाने सम्भावना भने हाललाई कम नै देखिन्छ।”

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.