काठमाण्डौ । भारतको निजी रिफाइनरी कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडले जनवरी महिनामा रूसबाट कच्चा तेलको कुनै पनि खेप प्राप्त हुने अपेक्षा नरहेको जनाएको छ। कम्पनीका अनुसार पछिल्ला तीन हप्तामा पनि रूसबाट कुनै कार्गो आएको छैन।
सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जारी विज्ञप्तिमार्फत रिलायन्सले ब्लूमबर्गको एक रिपोर्ट खण्डन गरेको हो। उक्त रिपोर्टमा केप्लरको तथ्यांक उद्धृत गर्दै रूसी तेल बोकेका तीन जहाज जामनगरस्थित रिलायन्सको रिफाइनरीतर्फ गइरहेको दाबी गरिएको थियो।
रिलायन्सले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामी अत्यन्तै निराश छौँ कि आफूलाई निष्पक्ष पत्रकारिताको अग्रपंक्तिमा राख्ने मिडियाले जनवरीमा रूसी तेल खरिद नगर्ने हाम्रो स्पष्ट बयानलाई बेवास्ता गर्दै गलत रिपोर्ट प्रकाशित गर्यो, जसले हाम्रो छविमा क्षति पुर्याएको छ।’
यसअघि सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एयर फोर्स वन विमानमा सँगै रहेका अमेरिकी सिनेटर लिन्डसे ग्राहमले भारतको रूससँगको तेल कारोबारबारे टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘मलाई विश्वास छ कि राष्ट्रपति ट्रम्पले भारतप्रति अपनाएको कडा अडानकै कारण आज भारतले रूसबाट धेरै कम तेल खरिद गरिरहेको छ।’
उक्त अवसरमा राष्ट्रपति ट्रम्पले पनि भारत र रूसबीच व्यापार जारी रहेको उल्लेख गर्दै, यदि भारतले अमेरिकाको कुरा नमानेमा छिट्टै थप ट्यारिफ बढाउन सकिने चेतावनी दिएका थिए।
हाल अमेरिकाले भारतमाथि कुल ५० प्रतिशत ट्यारिफ लगाइसकेको छ, जसमा रूसबाट तेल खरिद गरेको आरोपमा २५ प्रतिशत ट्यारिफ ‘दण्ड’ स्वरूप लगाइएको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।