काठमाण्डौ । भारतीय उद्योगपति अनिल अम्बानी र उनको कम्पनी रिलायन्स कम्युनिकेशन(आरकम) विरुद्ध सीबीआईले नयाँ ठगी मुद्दा दर्ता गरेको छ। अनुसन्धान निकायका अनुसार सन् २०१३ देखि २०१७ बीच कम्पनीले बैंक अफ बरोदासँग २ हजार २२० करोड भारतीय रुपैयाँभन्दा बढी रकममा अनियमितता तथा ठगी गरेको आरोप लगाइएको छ।
बैंकको उजुरीका आधारमा सीबीआईले बिहीबार मुम्बईस्थित अम्बानीको निवास तथा कम्पनीका विभिन्न कार्यालयहरूमा छापा मारेको जनाएको छ। छापामार कार्यवाहीका क्रममा ऋण कारोबारसँग सम्बन्धित महत्वपूर्ण कागजातहरू बरामद गरिएको बताइएको छ।
यसअघि अम्बानी अर्को एक मुद्दामा ईडी समक्ष उपस्थित भएका थिए, जहाँ उनीसँग करिब ९ घण्टा सोधपुछ गरिएको थियो।
सीबीआईको दाबी अनुसार रिलायन्स कम्युनिकेशन्सले बैंकबाट लिएको ऋण निर्धारित प्रयोजनमा प्रयोग नगरी सम्बन्धित अन्य कम्पनीहरूमा नक्कली कारोबार देखाई रकम सारिएको थियो। यसबाट बैंक अफ बरोडालाई २ हजार २२० करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको बताइएको छ।
कम्पनीको उक्त ऋण खाता सन् २०१७ मै ‘नन–परफर्मिङ एसेट’ (एनपीए) घोषणा गरिएको थियो। तर अम्बानीले बम्बे उच्च अदालतमा मुद्दा दायर गरेपछि खातालाई ‘फ्रड’ घोषणा गर्ने निर्णयमा रोक लगाइएको थियो। उक्त रोक २३ फेब्रुअरी २०२६ मा हटाइएपछि बैंकले औपचारिक उजुरी दर्ता गराएको र त्यसलगत्तै सीबीआईले मुद्दा दर्ता गरेको हो।
उजुरीअनुसार रिलायन्स कम्युनिकेशन्स, रिलायन्स इन्फ्राटेल र रिलायन्स टेलिकमले बैंक तथा वित्तीय संस्थाबाट कुल ३१ हजार ५८० करोड रुपैयाँ संकलन गरेका थिए। आरोप अनुसार—
६,२६५.८५ करोड भारु अन्य बैंकको ऋण चुक्ता गर्न प्रयोग गरिएको,
५,५०१.५६ करोड भारु सम्बन्धित कम्पनीहरूलाई हस्तान्तरण गरिएको,
३,६७४.८५ करोड भारु स्थिर निक्षेप तथा म्युचुअल फण्डमा लगानी गरी तत्पश्चात अन्य पक्षलाई भुक्तानी गरिएको।
यसलाई ऋण सम्झौताको स्पष्ट उल्लङ्घन मानिएको छ।
सीबीआईका अनुसार यो मुद्दा एसबीआई बैंकको नेतृत्वमा रहेका ११ बैंकको कन्सोर्टियमसम्बन्धी अघिल्लो प्रकरणभन्दा फरक हो। बैंक अफ बरोडा, तत्कालीन विजया बैंक र देना बैंकसँग सम्बन्धित छुट्टै ऋण प्रकरणका आधारमा यो मुद्दा दर्ता गरिएको जनाइएको छ।

