काठमाण्डौ । सरकारले शुक्रवारदेखि देशका विभिन्न भागमा भारी वर्षा, हितपात र हावाहुरीको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार विभिन्न स्थानमा भारी वर्षाको साथै तीव्र गतिको हावाहुरी चल्ने भएकाले सतर्क रहन आग्रह गरेको हो ।
चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना रहेको छ । साथै, शुक्रबारबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा शनिवार पूर्वी क्षेत्रका बिराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
नागरिकले विशेष सतर्कता अपनाउन, विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।


