काठमाण्डौ । विकास बैंकहरुको नाफमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले चालु आवको ८ महिनासम्ममा ४ अर्ब ६८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १५.०६ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्म विकास बैंकहरुले ४ अर्ब ७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका थिए ।
राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा सालपा विकास बैंकसहित चार बैंकले घाटा ब्यहोरेका छन् भने १३ बैंक नाफामा रहेका छन् । घाटा ब्योहोर्ने बैंकहरुमा सिन्धु विकास बैंकले २ करोड ३२ लाख, सालपा विकास बैंकले १ करोड ३८ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५ करोड ६३ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले ३१ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।
सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ९८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २४.७८ प्रतिशत बढी हो ।
त्यस्तै, गरिमा विकास बैंकले ९२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । गरिमाको यो नाफा गत आवको तुलनामा ११.१९ प्रतिशत बढी हो ।

यता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ करोड, कामना सेवा विकास बैंकले ५६ करोड २७ लाख, ज्योति विकास बैंकले ४६ करोड ३३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४१ करोड ७१ लाख, महालक्ष्मी विकास बैंकले ३३ करोड ४० करोड, लुम्बिनी विकास बैंकले २५ करोड १२ लाख, मितेरी डेभलपमेन्ट बैंकले ८ करोड एक लाख, एक्सेल डेभलपमेन्ट बैंकले ६ करोड ४० लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले २ करोड २४ लाख, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ७९ लाख र कर्णाली डेभलपमेन्ट बैंकले १ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्ने बैंकमा ज्योति विकास बैंक रहेको छ । यो बैंकको नाफा २८.६७ प्रतिशतले बढेको छ ।
त्यस्तै, मुक्तिनाथको नाफा २४.७८ प्रतिशत, गरिमाको ११.१९ प्रतिशत, शाइन रेसुङ्गाको १५.१० प्रतिशत, कामना सेवा विकासको १२.३० प्रतिशत, सांग्रिलाको २.५८ प्रतिशतले बढेको छ ।

