काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा १ महिनाभित्र सार्वजनिक गर्ने तयारी तीव्र बनाएको जनाएको छ। बोर्डले आगामी २९ वैशाखभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यका साथ विवरण इन्ट्रीको काम तीव्र गतिमा अघि बढाइरहेको छ।
देशभरका विभिन्न जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका बोर्डमा आउने क्रम जारी छ।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। विशेष व्यवस्था अनुसार यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो, जसले नतिजा प्रकाशनलाई छिटो बनाउन सहयोग पुगेको बोर्डको भनाइ छ। परीक्षण गरिएका उत्तरपुस्तिका र मार्कस्लिपहरू क्रमशः बोर्डमा आइरहेका छन् भने हालसम्म ८–१० जिल्लाबाट आवश्यक कागजात प्राप्त भइसकेका छन्।
सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। सोहीअनुसार बोर्डले त्रुटिरहित र छिटो नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ। ढिलो नतिजा सार्वजनिक हुँदा विद्यार्थीहरूमा अनावश्यक तनाव सिर्जना हुने भएकाले छिटो नतिजा निकाल्ने नीति अवलम्बन गरिएको हो।
यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्। जापानस्थित एक केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिएका थिए भने देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका थिए।

