काठमाण्डौ । मध्यपूर्वमा सम्भावित युद्धविरामको आशाले लगानीकर्ताहरूको मनोबल बढेपछि अमेरिकाको प्रमुख सेयर बजार सूचकांकहरू आज इन्ट्रा डेको क्रममा नयाँ कीर्तिमानी स्तर नजिक पुगेका छन्।
एस एण्ड पी ५०० र प्रविधि–केन्द्रित नास्डक कम्पोजिट दुबै सूचकांकहरू इन्ट्रा डेमा नयाँ उच्च स्तरसम्म पुगेका थिए। बजारमा आएको यो सुधार मुख्यतः इजरायल र लेबनानबीच १० दिनको युद्धविरामको सम्भावनाले उत्पन्न भएको सकारात्मक भावनाका कारण भएको विश्लेषकहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच युद्धविराममा सहमति भएको बताएका छन्, जसले मध्यपूर्व क्षेत्रमा दीर्घकालीन शान्ति प्रक्रियातर्फ सकारात्मक संकेत दिएको लगानीकर्ताहरूको बुझाइ छ।
कारोबारको क्रममा डाउ जोन्स इन्डस्ट्रियल पनि सामान्य वृद्धि देखाउँदै अघि बढ्यो ।
विशेषज्ञहरूका अनुसार बजारको हालको उछाल मुख्य रूपमा जोखिम घट्ने अपेक्षामा आधारित छ, तर यसको स्थायित्वबारे अझै अनिश्चितता कायम छ। केही विश्लेषकहरूले वास्तविक आर्थिक तथ्यांकले अहिलेको उच्च उत्साहलाई पूर्ण रूपमा समर्थन नगरेको चेतावनी दिएका छन्।
कारोबारका क्रममा कम्पनीगत नतिजाहरूले पनि बजारलाई प्रभावित पारेका छन्।
समग्रमा बजारमा बढ्दो सूचकांकका बीच पनि लगानीकर्ताहरू कम्पनीगत नतिजा र मध्यपूर्वको राजनीतिक विकासप्रति संवेदनशील देखिएका छन्। विशेषज्ञहरूले युद्धविराम सम्बन्धी खबरहरूमा परिवर्तन आएमा बजार अझै पनि अस्थिर रहन सक्ने बताएका छन् ।

