सोमबार, श्रावण ११,२०८३ 09:51:34
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 09:51:34
Bizshala
Global IME Bank Limited

भन्सार विभागका महानिर्देशकलाई नाडाका प्रतिनिधिले भने, ‘एमआरपी स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक भएन’

भन्सार विभागका महानिर्देशकलाई नाडाका प्रतिनिधिले भने, ‘एमआरपी स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक भएन’
New Office

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को एक प्रतिनिधि मण्डलले आज भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थाबारे विस्तृत छलफल गरेको छ।

छलफलका क्रममा नाडा प्रतिनिधिहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लागू गर्न खोजेको उक्त व्यवस्थाप्रति आफूहरू सकारात्मक रहेको जनाउँदै यसको कार्यान्वयनमा केही व्यवहारिक समस्या रहेको औंल्याए। विशेषगरी चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधनहरूमा यस्तो व्यवस्था सहज भए पनि एउटै बक्समा ठूलो संख्यामा आउने अटोमोवाइल स्पेयर पार्ट्समा स्टिकर टाँस्न कठिनाइ हुने उनीहरूको भनाइ थियो।

यसैगरी भन्सार यार्डभित्रै स्टिकर टाँस्नुपर्ने व्यवस्था पनि व्यवहारिक नभएको नाडाले जनाएको छ। भन्सार क्षेत्रमा बण्डेड वेयरहाउसको पर्याप्त व्यवस्था नभएको अवस्थामा यस्तो प्रावधान कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने उनीहरूको तर्क छ।

महानिर्देशक भण्डारीले सबै प्रकारका अटोमोवाइल वस्तुहरूमा एमआरपी सहितको स्टिकर अनिवार्य गर्ने व्यवस्थालाई व्यवहारिक रूपमा लागू गर्न चुनौती रहेको स्वीकार गर्दै विभागले व्यापार सहजीकरण र राजश्व वृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

छलफलका क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहेका सवारी साधनहरू तोकिएको समयसीमाभित्र जाँचपास गर्न जारी गरेको सूचनाबारे जिज्ञासा राखेका थिए। यसबारे महानिर्देशक भण्डारीले उक्त सूचना विद्यमान कानुनी व्यवस्था अनुसार जारी गरिएको स्पष्ट पार्दै सम्बन्धित आयातकर्ताहरूलाई समयमै जाँचपास प्रक्रिया पूरा गर्न आग्रह गरे।

उक्त छलफल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ चैत ३० गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको व्यवस्था—विदेशबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने तथा बिक्री गर्दा बिल विजक जारी गर्नुपर्ने—कार्यान्वयनका विषयमा केन्द्रित रहेको थियो।

छलफलमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको समेत उपस्थिति रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.