-रविन ठकुरी
काठमाण्डौ । काठमाडौँ । काठमाडौं महानगरको मुटु भृकुटीमण्डपस्थित ‘हङ्गकङ्ग बजार’ पछिल्लो समय पुनः हटाउने वा स्थानान्तरण गर्ने बहसको केन्द्रमा छ। तर यो बजार केवल टहरा र सटरहरूको समूह मात्र होइन, काठमाडौंको अनौपचारिक अर्थतन्त्रको एउटा शक्तिशाली केन्द्र पनि हो।
करिब ७५० स्टलमा फैलिएको यो बजारबाट वार्षिक सवा अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान छ। त्यति मात्र होइन, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब १५ हजार नेपालीको जीविकोपार्जन यही बजारसँग जोडिएको छ।
सहरको बढ्दो महँगीबीच कम आय भएका उपभोक्ताका लागि सस्तो मूल्यमा लत्ताकपडा, जुत्ता, विद्युतीय सामग्री तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने केन्द्रका रूपमा परिचित यो बजारले उपभोक्ता राहतदेखि स्वरोजगारसम्मको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
सवा अर्बको कारोबार गर्ने ‘लो-कस्ट इकोनोमी’
व्यवसायीहरूको तथ्यांकअनुसार बजारका अधिकांश स्टलबाट दैनिक ४ हजारदेखि ५ हजार रुपैयाँसम्म कारोबार हुने गरेको छ। औसत दैनिक कारोबारलाई आधार मान्ने हो भने ७५० स्टलबाट प्रतिदिन करिब ३७ लाख ५० हजार रुपैयाँ बराबरको व्यापार हुन्छ।
यस आधारमा मासिक कारोबार ११ करोड रुपैयाँभन्दा बढी र वार्षिक कारोबार १ अर्ब ३५ करोड रुपैयाँभन्दा माथि पुग्ने देखिन्छ।
काठमाडौंको ठूला सपिङ मल वा ब्रान्डेड रिटेल स्टोरभन्दा फरक, हङ्गकङ्ग बजारको अर्थशास्त्र सानो नाफा र ठूलो परिमाण (Low Margin, High Volume) मा आधारित छ। यही कारण निम्न तथा सीमित मध्यम वर्गीय उपभोक्ताको पहिलो रोजाइ बनेको छ।
“हामीले ८ हजार रुपैयाँबाट सुरु गरेको व्यवसायले आज परिवार चलाएको छ। एउटा स्टलबाट मात्रै ३–४ जनाको घरखर्च धानिएको छ,” व्यवसायी चन्द्रमाया पोखरेल भन्छिन्।
रोजगारी सिर्जना गर्ने ‘साइलेन्ट इन्जिन’
भृकुटीमण्डपको यो बजारमा करिब १ हजार ३५० व्यवसायी आबद्ध छन्। प्रत्येक व्यवसायीको परिवार, कर्मचारी, आपूर्ति श्रृंखला र सहायक व्यवसाय जोड्दा करिब १५ हजार नागरिकको जीवनयापन यही बजारको आर्थिक गतिविधिसँग जोडिएको देखिन्छ।
सरकारी तथ्यांकमा ठूलो उद्योग, बैंक वा कम्पनीले सिर्जना गरेको रोजगारी धेरै चर्चा पाउँछ। तर साना व्यापारीहरूको यो समूहले सिर्जना गरेको स्वरोजगार र सूक्ष्म रोजगारी भने अक्सर नीतिगत बहसबाट बाहिर रहने गरेको छ।
“हामीमध्ये धेरैसँग जागिर छैन, यही व्यापार नै आम्दानीको एकमात्र स्रोत हो,” व्यवसायी रोशन घिमिरे भन्छन्।
राज्यलाई पनि करोडौंको अप्रत्यक्ष लाभ
हङ्गकङ्ग बजारलाई प्रायः ‘सस्तो बजार’का रूपमा मात्र हेरिन्छ। तर यसले राज्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राजस्व पनि उपलब्ध गराइरहेको छ।
व्यवसायीहरूका अनुसार हाल बजारले काठमाडौं महानगरपालिकालाई वार्षिक करिब ४५ लाख रुपैयाँ कर तिर्दै आएको छ। यसबाहेक समाज कल्याण परिषद्लाई भाडा, व्यवसाय दर्ता शुल्क, विभिन्न सेवा शुल्क तथा व्यवसायीहरूले तिर्ने आयकर, मूल्य अभिवृद्धि कर (VAT) लगायतका माध्यमबाट राज्यको राजस्वमा योगदान पुर्याइरहेका छन्।
काठमाडौं निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीका अनुसार व्यवसायीहरूले सुरुआतमा प्रतिवर्गफुट ६ रुपैयाँ भाडा तिर्थे भने अहिले सोही दर ८६ रुपैयाँसम्म पुगेको छ।
भृकुटीमण्डपको आम्दानीको एउटा आधार
समाज कल्याण परिषद्को वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा भृकुटीमण्डपले १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
यस आम्दानीमा हङ्गकङ्ग बजारको योगदान उल्लेखनीय रहेको व्यवसायीहरू बताउँछन्। अर्थात्, यो बजार केवल व्यवसायीको मात्रै होइन, भृकुटीमण्डप व्यवस्थापन प्रणालीको समेत आयस्रोत बनेको छ।
किन टिकिरहेको छ ३५ वर्षदेखि?
२०४९ सालमा खुलामञ्च क्षेत्र व्यवस्थित गर्ने उद्देश्यले अस्थायी रूपमा सारिएका साना व्यापारीहरू आज ३५ वर्षपछि पनि यही स्थानमा छन्।
यस अवधिमा काठमाडौंमा दर्जनौं आधुनिक सपिङ मल, सुपरमार्केट र कमर्सियल कम्प्लेक्स खुले। तर ती संरचनाले हङ्गकङ्ग बजारको ग्राहक खोस्न सकेनन्।
कारण स्पष्ट छ-लक्षित ग्राहक फरक छन्।
जहाँ आधुनिक मलहरू मध्यम र उच्च आय वर्गमा केन्द्रित छन्, त्यहाँ हङ्गकङ्ग बजारले दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी, निम्न आय भएका परिवार तथा कम बजेटका उपभोक्तालाई सेवा दिइरहेको छ।
हटाउने कि व्यवस्थित गर्ने ?
हाल बजार हटाउने चर्चा चलिरहेका बेला अर्थतन्त्रसँग सम्बन्धित अर्को प्रश्न पनि उठेको छ- यदि यो बजार हटाइयो भने त्यसबाट सिर्जना हुने रोजगारी, उपभोक्ता सुविधा र आर्थिक गतिविधिको विकल्प के हुनेछ ?
शहरी विकासका दृष्टिले व्यवस्थापन आवश्यक हुन सक्छ। तर आर्थिक दृष्टिले हेर्दा हङ्गकङ्ग बजार केवल टहराहरूको समूह होइन, काठमाडौंको एउटा जीवित आर्थिक इकोसिस्टम हो, जहाँ दैनिक लाखौं रुपैयाँको कारोबार, हजारौं परिवारको आम्दानी र निम्न वर्गीय उपभोक्ताको क्रयशक्ति एकसाथ जोडिएका छन्।
त्यसैले भृकुटीमण्डपको भविष्यबारे निर्णय गर्दा केवल संरचना होइन, त्यसले बोकेको अर्थतन्त्रलाई पनि केन्द्रमा राख्नुपर्ने देखिन्छ।

