सोमबार, श्रावण १८,२०८३ 09:02:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:02:27
Bizshala
Global IME Bank Limited

कौसीबाटै करोडपतिः ‘माली’को पहिचान फेर्दै नर्सरी उद्योग

कौसीबाटै करोडपतिः ‘माली’को पहिचान फेर्दै नर्सरी उद्योग
New Office

-सुजता थापा

 

काठमाण्डौ । कुनै समय घरको आँगन सजाउने फूल–बिरुवासँग मात्र जोडिएको नर्सरी व्यवसाय अहिले शहरको नयाँ ‘ग्रीन इकोनोमी’ बन्दै गएको छ। कोठा सजाउने इनडोर प्लान्टदेखि कौसी बगैंचा, अनलाइन डेलिभरी र विदेशी प्रजातिका बिरुवासम्मको बढ्दो मागले यसलाई रुचिको कामबाट व्यवस्थित उद्यममा रूपान्तरण गरिरहेको छ।

कागेश्वरी नर्सरीका सञ्चालक रमेश थापाका अनुसार नर्सरी व्यवसायको प्रवेशद्वार सबैका लागि खुला छ। सानो स्तरमा ५० हजार रुपैयाँबाट सुरु गर्न सकिने यो व्यवसाय ठूलो आयात, उत्पादन र बिक्री प्रणालीमा पुग्दा ५० लाख रुपैयाँसम्मको लगानी माग्न सक्छ।

“बिरुवालाई समय दिनुपर्छ, हेरचाह गर्नुपर्छ,” थापा भन्छन्, “कामदारको भरमा छोडेर छिट्टै धनी हुने सोचले नर्सरी चल्दैन।”

नाफा आकर्षक, जोखिम पनि उस्तै

नर्सरी व्यवसायमा सामान्यतया ३० देखि ६० प्रतिशतसम्म खुद नाफाको सम्भावना देखिन्छ। मनी प्लान्टजस्ता बिरुवाको सानो हाँगालाई आकर्षक गमलामा सजाएर बिक्री गर्दा राम्रो मूल्य आउन सक्छ। रु २०० मा किनेको बिरुवा हुर्काएर, राम्रो प्रस्तुति र डिजिटल प्रचारमार्फत रु ६०० सम्ममा बिक्री गर्न सकिने अनुभव युवा उद्यमीहरूको छ।

तर यो हरियो व्यवसाय सधैं हराभरा हुँदैन। हिउँदको तुसारो, वर्षायामको ढुसी, अत्यधिक पानी, रोग-कीरा वा ढुवानीको लापरबाहीले एकैपटक ठूलो स्टक नष्ट हुन सक्छ। व्यावसायिक आयातकर्ताका लागि त भन्सार र क्वारेन्टाइनमा भएको ढिलाइ पनि लाखौँ रुपैयाँको घाटाको कारण बन्न सक्छ।

सञ्जय नर्सरीकी व्यापारी कमला राई भन्छिन्, “भारत वा थाइल्यान्डबाट ल्याइएका बिरुवा बाटोमै सुके वा क्वारेन्टाइनमा रोकिए भने बिक्रीको अवसरसँगै पूँजी पनि डुब्छ।”

टिकटक–इन्स्टाग्रामले बदल्यो नर्सरी बजार

नर्सरीको बजार विस्तारमा सामाजिक सञ्जाल निर्णायक बनेको छ। पहिले फूल किन्न नर्सरी पुग्ने ग्राहक अहिले कोठा, अफिस र कौसी सजाउन इनडोर प्लान्ट खोज्दै अनलाइन अर्डर गरिरहेका छन्।

आश्मा कोइरालाका अनुसार नयाँ पुस्ताका लागि बिरुवा अब सजावटको वस्तु मात्र होइन, जीवनशैलीको हिस्सा बनेको छ। “आफ्नो कौसी र कोठाको हरियाली सामाजिक सञ्जालमा देखाउने ट्रेन्डले अनलाइन प्लान्ट बजार बलियो बनाएको छ,” उनी भन्छिन्।

मनी प्लान्ट, स्नेक प्लान्ट, एरेका पामजस्ता इनडोर प्लान्ट र मौसमी फूलको माग उच्च छ। नेपाली धुपी र सुनाखरीजस्ता प्रजाति स्थानीय उत्पादनबाट उपलब्ध भए पनि बजारमा चलेका धेरै विदेशी तथा आकर्षक प्रजाति अझै आयातमै निर्भर छन्।

हरियालीसँग जोडिएको ठूलो आर्थिक चक्र

नर्सरी व्यवसायको प्रभाव बिरुवा बेच्ने पसलसम्म सीमित छैन। यसले गमला बनाउने कुम्हालेलाई काम दिन्छ, माटो, मल, बीउ, प्लास्टिक तथा सिरेमिक सामग्री बेच्ने व्यवसायलाई चलाउँछ, ढुवानी, कुरियर, माली र दैनिक ज्यालादारी श्रमिकको आम्दानीसँग जोडिन्छ।

ठूला लगानीकर्ताको खर्च, मध्यमवर्गीय युवाको अनलाइन उद्यम र साना किसान तथा श्रमिकको श्रमबीच नर्सरी व्यवसायले आर्थिक सम्बन्धको नयाँ श्रृंखला बनाएको छ।

तर यो क्षेत्रलाई अझै प्राविधिक ज्ञान, गुणस्तरीय उत्पादन, रोग व्यवस्थापन, सहज क्वारेन्टाइन प्रक्रिया र व्यवस्थित बजारको आवश्यकता छ। सही सीप, धैर्यता र बजार बुझाइ भए नर्सरी व्यवसाय केवल फूल(बिरुवाको कारोबार होइन)रोजगारी, उद्यमशीलता र हरित अर्थतन्त्रको बलियो आधार बन्न सक्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.