काठमाण्डौ । विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परेपछि हिमालयन रि इन्स्योरेन्स मा व्यवस्थापकीय अस्थिरता झन् गहिरिँदै गएको छ। कम्पनीकी निवर्तमान प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल निलम्बनमा परेपछि सुरु भएको नेतृत्व रिक्तता अब कामु सीईओले समेत राजीनामा दिएसँगै थप जटिल बनेको छ।
फौजदारी अभियोग लागेपछि हिमालयन रि लगायत केही बीमा कम्पनीका सीईओ तथा कर्मचारी स्वतः निलम्बनमा परेका छन्। आधा दर्जनभन्दा बढी बीमा कम्पनीमा नेतृत्व रिक्तताको समस्या देखिए पनि लगानीकर्ता र सर्वसाधारणको सबैभन्दा बढी चासो हिमालयन रितर्फ केन्द्रित छ। यसको कारण कम्पनीको उच्च व्यवस्थापनमा लगातार भइरहेको फेरबदल र सञ्चालक समितिमा देखिएको अस्थिरता हो।
निवर्तमान सीईओ पौडेल निलम्बनमा परेपछि सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत मुकेशकुमार कपुरलाई कामु सीईओको जिम्मेवारी दिएको थियो। तर कपुरले जिम्मेवारी सम्हालेको एक सातामै कामु सीईओसँगै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट समेत राजीनामा दिएका छन्। यसले कम्पनीको निर्णय क्षमता, दैनिक सञ्चालन र संस्थागत स्थिरतामाथि गम्भीर प्रश्न उठाएको छ।
कम्पनीको सञ्चालक समितिमा पनि फेरबदल तीव्र छ। संस्थापक शेयरधनी समूहबाट सञ्चालक रहेका दीपककुमार मिश्रले राजीनामा दिएपछि टेलि डिरेक्ट प्रालिले आफ्नो प्रतिनिधिका रूपमा पृथ्वीराज थापालाई सञ्चालकबाट फिर्ता बोलाएको छ। यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट आगामी वार्षिक साधारणसभासम्मका लागि सागरप्रसाद मुल्मीलाई सञ्चालक चयन गरिएको छ।
उच्च व्यवस्थापन र सञ्चालक समितिमा एकसाथ भइरहेको परिवर्तनले कम्पनीमा ‘कमान्ड भ्याकुम’ सिर्जना भएको संकेत देखिएको छ। हाल कम्पनीको व्यवस्थापन पक्ष सम्हाल्ने प्रमुख जिम्मेवारी कार्यकारी निर्देशक सन्तोष केसीमाथि मात्र केन्द्रित भएको बताइन्छ। यस्तो अवस्थामा जोखिम व्यवस्थापन, पुनर्बीमा सम्झौता, दाबी भुक्तानी, नयाँ व्यवसाय विस्तार तथा नियामकीय अनुपालनजस्ता संवेदनशील विषय प्रभावित हुन सक्ने चिन्ता बढेको छ।
प्राधिकरणको निगरानीमा हिमालयन रि
नेपाल बीमा प्राधिकरणले हिमालयन रि सहित नेतृत्वविहीन बनेका बीमा कम्पनीलाई शीघ्र सीईओ नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिने तयारी गरेको छ।
प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेलका अनुसार, हिमालयन रिको व्यवस्थापन अवस्था नियामकको दैनिक छलफलको विषय बनेको छ। अन्य बीमा कम्पनीमा पनि नेतृत्व रिक्तता देखिए पनि हिमालयन रिको व्यवस्थापकीय पक्ष तुलनात्मक रूपमा बढी कमजोर देखिएको उनको भनाइ छ।
प्राधिकरणले तत्काल कम्पनी ‘टेकओभर’ गर्ने निर्णय गरिनसकेको स्पष्ट पारेको छ। तर नेतृत्व रिक्तता लम्बिँदै गएमा नियामक हस्तक्षेपको सम्भावना नकार्न सकिँदैन। बीमा कम्पनीमा नेतृत्व संकट केवल आन्तरिक विषय हुँदैन; यसले बीमितको भरोसा, शेयरधनीको सम्पत्ति र समग्र बीमा बजारको विश्वसनीयतासँग प्रत्यक्ष सम्बन्ध राख्छ।
हिमालयन रिका लागि अबको मुख्य परीक्षा स्पष्ट छ-छिटो, सक्षम र विश्वसनीय नेतृत्व चयन गरेर कम्पनीमाथि बढ्दो अविश्वास रोक्ने। अन्यथा, दीपक भट्ट पक्राउपछि सुरु भएको संकट व्यवस्थापनको प्रश्न क्रमशः कम्पनीको संस्थागत भविष्यको प्रश्न बन्न सक्छ।

