काठमाण्डौ । दक्षिण अमेरिकी देश भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पपछि ठूलो मानवीय क्षति भएको छ। राजधानी कारकास नजिकका क्षेत्रहरूमा केन्द्रबिन्दु रहेको भूकम्पका कारण कम्तीमा २३५ जनाको मृत्यु भएको र १ हजार ५०० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्पपछि केही सेकेन्डमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प सतह नजिक भएकाले क्षति अत्यधिक भएको बताइएको छ।
सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा राजधानी काराकास र तटीय शहर ला गुऐरा रहेका छन्। यहाँ धेरै भवनहरू भत्किएका छन् र केही स्थानमा मानिसहरू भग्नावशेषमुनि फसेको आशंकामा उद्धार कार्य तीव्र पारिएको छ।
स्थानीय अधिकारीहरूका अनुसार करिब २५० भन्दा बढी भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्। भूकम्पपछि धेरै क्षेत्रमा बिजुली, सञ्चार र यातायात सेवा अवरुद्ध भएको छ। मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको छ।
उद्धारकर्मी, सेनासहितको टोली र स्वयंसेवकहरू भग्नावशेष हटाएर जीवित व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्। स्थानीय बासिन्दाहरूले आफन्त र साथीहरूको खोजीमा सडकमा रात बिताइरहेका छन्।
सरकारले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोग माग गरेको छ। विभिन्न देशहरूले राहत तथा उद्धार सहयोग पठाउने प्रतिबद्धता जनाएका छन्।
धेरै व्यक्ति अझै बेपत्ता रहेका छन् र उद्धार कार्य जारी रहेकाले अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

