बिहीबार, श्रावण १४,२०८३ 12:52:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:52:40
Bizshala
Global IME Bank Limited

फिफाको प्रतिबन्धले नेपाली फुटबलमा ठूलो धक्का, तीन अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिने संघारमा नेपाल

– जुन २९ भित्र प्रतिबन्ध नहटे महिला च्याम्पियन्स लिग गुम्ने– यू–१७ र यू–२० एसियन कपको यात्रा पनि संकटमा

फिफाको प्रतिबन्धले नेपाली फुटबलमा ठूलो धक्का, तीन अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिने संघारमा नेपाल
New Office

 

काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनको असर अब प्रत्यक्ष रूपमा नेपाली फुटबलमाथि पर्न थालेको छ। फिफाको प्रतिबन्ध समयमै फुकुवा नभए नेपालले एएफसीका तीन महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउने निश्चितजस्तै भएको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फाका महासचिव किरण राईलाई औपचारिक पत्र पठाउँदै फिफाको निलम्बन कायम रहे नेपाली राष्ट्रिय टोली तथा क्लबहरूलाई आफ्ना प्रतियोगितामा सहभागी गराउन नसकिने स्पष्ट पारेको हो।

एएफसीका अनुसार फिफाले जुन २४, २०२६ देखि लागू गरेको निलम्बनका कारण एन्फाले फिफा सदस्यको हैसियतसँग जोडिएका सम्पूर्ण अधिकार गुमाएको छ। फिफा विधानको धारा १३ अनुसार निलम्बित सदस्य संघका राष्ट्रिय टोली र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउँदैनन्।

सबैभन्दा ठूलो खतरा महिला च्याम्पियन्स लिगमा

नेपालका लागि पहिलो झट्का एएफसी महिला च्याम्पियन्स लिग मा पर्ने देखिएको छ। प्रतियोगिताको प्रारम्भिक चरणको ड्र जुलाई २ मा हुँदैछ। एएफसीले जुन २९ भित्र फिफाको प्रतिबन्ध हट्नुपर्ने स्पष्ट समयसीमा दिएको छ। अन्यथा नेपाली टोलीलाई ड्रमै समावेश नगरिने र प्रतियोगिताबाट बाहिरिनेछ।

यू–१७ र यू–२० एसियन कप पनि जोखिममा

महिला च्याम्पियन्स लिगपछि अर्को असर चीनमा हुने एएफसी यू–१७ महिला एसियन कप मा पर्नेछ। यस प्रतियोगिताको प्रारम्भिक ड्र जुलाई १६ मा हुँदैछ। त्यसअघि जुलाई १३ सम्म प्रतिबन्ध हट्नुपर्ने एएफसीको सर्त छ।

यस्तै, चीनमै आयोजना हुने एएफसी यू–२० एसियन कप छनोट का लागि पनि नेपालसँग धेरै समय छैन। प्रतियोगिता सुरु हुनुभन्दा ३० दिनअघि अर्थात् अगस्ट १ भित्र एन्फामाथिको निलम्बन हट्नुपर्नेछ। अन्यथा नेपाल उक्त प्रतियोगिताबाट पनि स्वतः बाहिरिनेछ।

पहिल्यै स्वीकृत सहभागितासमेत संकटमा

एन्फाले सन् २०२६/२७ सिजनका लागि विभिन्न एएफसी प्रतियोगितामा राष्ट्रिय टोली र क्लबहरूको नाम दर्ता गराइसकेको थियो। एएफसीले ती सहभागिता स्वीकृतिसमेत दिइसकेको थियो। तर फिफाको पछिल्लो निर्णयले ती सबै तयारी अन्योलमा धकेलिएको छ।

यदि प्रतिबन्ध छिट्टै फुकुवा हुन सकेन भने नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा लगातार तीन महत्वपूर्ण प्रतियोगिता गुमाउनेछ। यसले खेलाडीको विकास, अन्तर्राष्ट्रिय अनुभव, क्लब फुटबल र नेपालको फुटबल प्रतिष्ठामाथि समेत गम्भीर असर पर्ने देखिएको छ।

फिफा र एन्फाबीचको विवाद समाधान कहिले हुन्छ भन्ने अझै स्पष्ट छैन। तर समय भने तीव्र गतिमा सकिँदै गएको छ, र प्रत्येक दिनसँगै नेपाली फुटबलका अन्तर्राष्ट्रिय अवसरहरू पनि गुम्ने जोखिम बढिरहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.