सोमबार, श्रावण १८,२०८३ 04:47:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:47:26
Bizshala
Global IME Bank Limited

असारको १८ दिनमै मधेश प्रदेश सरकारद्वारा ३ अर्ब ३२ करोड खर्च, कुल बजेट खर्चको २८.३० प्रतिशत

असारको १८ दिनमै मधेश प्रदेश सरकारद्वारा ३ अर्ब ३२ करोड खर्च, कुल बजेट खर्चको २८.३० प्रतिशत
New Office

काठमाण्डौ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएपछि खर्चको गति उल्लेख्य रूपमा बढाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार १८ गतेसम्म प्रदेश सरकारले कुल १३ अर्ब २९ करोड ६६ लाख ६८ हजार १६४ रुपैयाँ खर्च गरेको छ, जुन विनियोजित कुल बजेटको २८.३० प्रतिशत हो।

कार्यालयको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म प्रदेश सरकारले करिब ९ अर्ब ९७ करोड रुपैयाँ अर्थात् २१.२४ प्रतिशत बजेट मात्र खर्च गरेको थियो। त्यसयता असारको पहिलो १८ दिनमै थप ३ अर्ब ३२ करोड रुपैयाँ (७.०६ प्रतिशत) खर्च भएको देखिएको छ।

अन्तिम महिनामा हुने ‘असारे खर्च’को प्रवृत्ति पुनः दोहोरिएसँगै बजेट कार्यान्वयन, सरकारी संयन्त्रको कार्यक्षमता तथा सार्वजनिक खर्चको गुणस्तरबारे प्रश्न उठ्न थालेका छन्।

प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार हालसम्म चालुतर्फ ६ अर्ब ७२ करोड ८८ लाख तीन हजार ९९९ रुपैयाँ अर्थात् ४३.०२ प्रतिशत तथा पुँजीगततर्फ ६ अर्ब ५६ करोड ७८ लाख ६४ हजार १६५ रुपैयाँ अर्थात् २०.९६ प्रतिशत बजेट खर्च भएको छ।

जेठ मसान्तसम्म चालुतर्फ ३६.२२ प्रतिशत र पुँजीगततर्फ १३.७६ प्रतिशत मात्र खर्च भएको थियो। असार लागेसँगै दुवै शीर्षकमा खर्चको गति उल्लेखनीय रूपमा बढेको तथ्याङ्कले देखाएको छ।

तथ्याङ्कअनुसार वर्षभर योजना कार्यान्वयनमा सुस्त देखिएको प्रदेश सरकार आर्थिक वर्षको अन्तिम चरणमा ठूलो परिमाणमा भुक्तानी गर्न केन्द्रित भएको देखिन्छ। सार्वजनिक वित्त व्यवस्थापनका जानकारहरूले यस्तो प्रवृत्तिले खर्चको गुणस्तर, पारदर्शिता तथा प्रभावकारितामा नकारात्मक असर पार्न सक्ने र हतारमा गरिने भुक्तानीले विकास आयोजनाको गुणस्तरसमेत प्रभावित हुन सक्ने भन्दै सुधारको आवश्यकता औँल्याउँदै आएका छन्।

मन्त्रालयगत खर्चतर्फ अर्थ मन्त्रालय सबैभन्दा अगाडि रहेको छ। मन्त्रालयले हालसम्म ५३.७१ प्रतिशत बजेट खर्च गरेको छ। त्यसपछि वन तथा वातावरण मन्त्रालयले ४६.३८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयले ३८.९७ प्रतिशत, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३६.२९ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३१.२१ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले २८.७९ प्रतिशत, गृह, सञ्चार तथा कानुन मन्त्रालयले २८.५६ प्रतिशत तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २८.३६ प्रतिशत बजेट खर्च गरेका छन्।

त्यस्तै शिक्षा तथा संस्कृति मन्त्रालयको खर्च २६.४७ प्रतिशत, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको १९.६० प्रतिशत तथा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ११.०२ प्रतिशत रहेको छ। सबैभन्दा कम खर्च गर्ने मन्त्रालय खेलकुद तथा समाज कल्याण मन्त्रालय रहेको छ, जसले हालसम्म ९.९३ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ।

सूचना अधिकारी कर्णका अनुसार प्रदेश सरकारका विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी असार २५ गतेसम्म जारी रहने भएकाले आगामी केही दिनमा बजेट खर्चको प्रतिशत अझै बढ्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.