काठमाण्डौ । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को असार १८ गतेको बैठकले सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । यससँगै अर्थ मन्त्रालय मातहतका प्रमुख निकायहरू नेतृत्वविहिन बन्न पुगेका छन् ।
सरुवा प्रक्रियाअन्तर्गत अर्थ मन्त्रालयका महत्वपूर्ण निकायहरू भन्सार विभाग र आन्तरिक राजस्व विभाग नेतृत्वविहीन बनेका छन्।
भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। उनी केही दिनअघि मात्र तत्कालीन महानिर्देशक श्यामप्रसाद भण्डारीलाई हटाएर निमित्त प्रमुखका रूपमा जिम्मेवारीमा आएका थिए। भण्डारीलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
त्यस्तै, आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अर्याललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा मुछिएपछि विभागका तत्कालीन महानिर्देशक मदन दहाल हटाइएपछि अर्याललाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्व महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
यसैबीच अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युवा, श्रम तथा रोजगार मन्त्रालयबाट तीन जना सहसचिव सरुवा भई आएका छन्। प्रधानमन्त्री कार्यालयका भीष्मकुमार भुसाल र यमलाल भुसाल तथा युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रेमप्रसाद आचार्य अर्थ मन्त्रालयमा सरुवा भएका हुन्।

