सोमबार, आश्विन १९,२०८३ 09:11:03
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 09:11:03
Bizshala
Global IME Bank Limited

अमृत तेल बेच्ने अन्नपूर्ण भेजिटेबलको व्यापारमा छलाङ: एकै वर्ष करिब १३ अर्ब कारोबार, तर ऋणको भारी अझै उच्च

Bizshala
अमृत तेल बेच्ने अन्नपूर्ण भेजिटेबलको व्यापारमा छलाङ: एकै वर्ष करिब १३ अर्ब कारोबार, तर ऋणको भारी अझै उच्च
New Office

काठमाण्डौ। अमृत, सनस्टार र रानी ब्राण्डका खानेतेल बिक्री गर्दै आएको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिको कारोबारमा अस्वाभाविक छलाङ देखिएको छ। कम्पनीले गत आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ।

अघिल्लो उपलब्ध विवरणअनुसार कम्पनीको कारोबार ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँमा सीमित थियो। त्यसको तुलनामा गत आवमा कम्पनीको व्यापार करिब २४४ प्रतिशतले बढेको हो। कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामै १२ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरिसकेको छ।

कम्पनीको कारोबार वृद्धि हुनुमा भारत सरकारले कच्चा तेलमा बढाएको भन्सार दरलाई मुख्य कारण मानिएको छ। भारततर्फ प्रशोधित तेल निर्यात गर्दै आएको कम्पनीलाई भारतीय नीतिगत परिवर्तनले अप्रत्यक्ष लाभ दिएको देखिन्छ।

कारोबार मात्र होइन, कम्पनीको नाफा क्षमतामा पनि सुधार आएको छ। गत आवमा कम्पनीले ५.८५ प्रतिशत नाफा मार्जिन कायम गरेको छ। अघिल्ला वर्षहरूमा नाफा मार्जिन नकारात्मक रहेको कम्पनी पछिल्लो वर्ष सकारात्मक अवस्थामा फर्किएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको नगद सञ्चयमा पनि सुधार देखिएको छ। सन् २०२४ मा नकारात्मक रहेको कुल नगद सञ्चय गत आवमा ३७ करोड ६० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, गत आवमा ८ करोड रुपैयाँ इक्विटी थपिएपछि कम्पनीको ट्यांजिबल नेटवर्थमा पनि सुधार आएको छ।

तर, कारोबार र नाफामा सुधार देखिए पनि कम्पनीको वित्तीय संरचना अझै जोखिममुक्त देखिँदैन। कम्पनीको समग्र गियरिङ अनुपात १३.८६ गुणा पुगेको छ। कुल बाह्य दायित्व–ट्यांजिबल नेटवर्थ अनुपात पनि १३.८६ गुणा नै छ। यसले कम्पनीको पूँजी संरचना अझै अत्यधिक ऋणमा निर्भर रहेको देखाउँछ।

कम्पनीको कुल ऋण–कुल नगद सञ्चय अनुपात ११.३७ गुणा पुगेको छ। यसले ऋण चुक्ता गर्ने क्षमतामा दबाब अझै कायम रहेको संकेत गर्छ। यद्यपि, सञ्चालन नाफा मार्जिनमा सुधार आएपछि ब्याज कभरेज अनुपात २.०१ गुणा पुगेको छ।

सन् १९९८ मा स्थापना भएको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्सले विभिन्न प्रकारका कच्चा तेल आयात गरी प्रशोधन गर्दै नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीले प्रशोधित तेल भारततर्फ पनि निर्यात गर्छ।

कम्पनीसँग वार्षिक ६० हजार मेट्रिक टन क्षमताको भटमास, पामोलिन र सनफ्लावर तेल प्रशोधन क्षमता छ। त्यस्तै, ७ हजार मेट्रिक टन वनस्पति घ्यू र १० हजार मेट्रिक टन तोरीको तेल प्रशोधन क्षमता रहेको छ।

कम्पनीले प्रशोधित तेल अमृत, सनस्टार र रानी ब्राण्डमा बिक्री गर्दै आएको छ। संघाई परिवारद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ४ अर्ब ६ करोड ३० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जाका लागि ९६ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड रुपैयाँको रेटिङ गरिएको छ।

कारोबारको ग्राफ तीव्र गतिमा उकालो लागे पनि कम्पनीका लागि ऋण व्यवस्थापन अबको मुख्य चुनौतीका रूपमा देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.