काठमाण्डौ । सिरहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई १ लाख ४५ हजार घुस लिएको आरोपमा अख्तियारको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
टोलीले उनको साथबाट १२ हजार रुपैयाँ लिइसकेको अवस्थामा र स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ गरी १ लाख ४५ हजार १२० रुपैयाँ बरामद गरेको छ ।
उद्योगको लागि ल्याएको काठ सिलबन्दीअनुसार भए नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको सूचनाका आधारमा उनीमाथि निगरानी बढाइएको थियो ।

