काठमाण्डौ। सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले केही लगानीकर्ताले गरिरहेका आन्दोलन र नियामक निकायमाथिको दबाबप्रति आक्रामक बनेका छन्।
बजारलाई स्वाभाविक रूपमा चल्न दिनुपर्नेमा सूचक घट्नेबित्तिकै नियामक निकाय घेराउ गर्ने, तालाबन्दीको चेतावनी दिने र अराजक गतिविधि फैलाउने प्रवृत्ति अब स्वीकार्य नहुने स्पष्ट सन्देश अर्थमन्त्रीले दिएका हुन्।
अर्थमन्त्रीको सचिवालयस्थित उच्च स्रोतका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्ट पूँजीबजार सुधार तथा उद्धारका लागि तयार गरिएको विस्तृत ‘रेस्क्यू प्लान’को स्वीकृति लिन अर्थ मन्त्रालय पुगेका थिए। सोही क्रममा अर्थमन्त्री वाग्ले र अध्यक्ष भट्टबीच घट्दो बजार, लगानीकर्तामा बढेको निराशा तथा आन्दोलनका नाममा भइरहेका गतिविधिबारे लामो छलफल भएको थियो।
‘सकारात्मक प्रयासपछि पनि बजार किन घटिरहेको छ ?’
छलफलका क्रममा अर्थमन्त्री वाग्ले पूँजीबजारमा देखिएको निरन्तर गिरावटप्रति गम्भीर देखिएका थिए। सरकारले बजार सुधारका लागि गरेका नीतिगत घोषणा र सहजीकरणपछि पनि लगानीकर्ताको आत्मविश्वास फर्किन नसकेकोप्रति उनले आश्चर्य व्यक्त गरेको स्रोतको दाबी छ।
‘लगानीकर्ताले मागेअनुसार पूँजीगत लाभकरलाई अन्तिम कर मान्ने स्पष्ट व्यवस्था गरियो। बाँकी नीतिगत विषयमा पनि सहजीकरण भएकै छ,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर पनि बजार यसरी किन घटिरहेको छ भन्ने बुझ्न कठिन भइरहेको छ। लगानीकर्तालाई आतंकित बनाएर कसैले आफ्नो स्वार्थको रोटी सेकिरहेको त छैन भन्ने शंका स्वाभाविक रूपमा उठेको छ।’
अर्थमन्त्रीले बजारको गिरावटलाई सरकारविरुद्ध सुनियोजित प्रहारको माध्यम बनाइएको हुनसक्ने आशंकासमेत व्यक्त गरेको स्रोतको भनाइ छ।
‘पहिला रेस्क्यू प्लान सार्वजनिक गर्नुस्’
अर्थमन्त्री वाग्लेले सेबोनले तयार गरेको पूँजीबजार विकास तथा उद्धार मार्गचित्रको प्रशंसा गर्दै त्यसलाई तत्काल सार्वजनिक गरी कार्यान्वयनमा जान अध्यक्ष भट्टलाई निर्देशन दिएका छन्।
‘पहिला रेस्क्यू प्लान सार्वजनिक गरिहाल्नुस्। यसले बजारमा देखिएका धेरै समस्यालाई सम्बोधन गर्छ,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बजार सुधार र आधुनिकीकरणको काम गर्दा केही दिन सूचक घटेकै आधारमा आन्दोलन गर्ने र नियामकको काममा अवरोध पुर्याउनेलाई बाँकी नराख्नुस्।’
स्रोतका अनुसार अर्थमन्त्रीले बजार घट्नेबित्तिकै आन्दोलन, घेराउ र तालाबन्दीमा उत्रिने प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिएका थिए।
‘तपाईंहरूको काममा डिस्टर्ब गर्ने काम जोसुकैबाट भए पनि त्यस्तालाई छानीछानी ठोक्नुस्,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बजार घट्नेबित्तिकै आन्दोलन गरिहाल्ने विकृतिलाई अब थप बढ्न दिनु हुँदैन।’
तत्काल बल प्रयोग नगर्न सुझाव
यद्यपि, आन्दोलनरत लगानीकर्तामाथि तत्काल बल प्रयोग गर्दा अवस्था थप तनावपूर्ण बन्न सक्ने भन्दै अर्थमन्त्रीले सेबोनलाई संयमित रूपमा अघि बढ्न सुझाएको स्रोतको दाबी छ।
आफूमाथि अहिले चौतर्फी प्रहार भइरहेको अवस्थामा लगानीकर्तामाथि कठोर कारबाही गर्दा त्यसको राजनीतिक तथा मनोवैज्ञानिक प्रभाव उल्टो पर्न सक्ने अर्थमन्त्रीको विश्लेषण थियो।
‘अहिले नै अर्को विकल्पमा जानु हुँदैन,’ अर्थमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर अराजक गतिविधि गर्नेलाई आवश्यक परे राज्य अर्को विकल्पमा पनि जान सक्छ भन्ने सन्देश चाहिँ स्पष्ट दिनुपर्छ।’
‘लगानी सुरक्षा पनि, बजार अनुशासन पनि’
अर्थमन्त्रीले पूँजीबजारलाई आधुनिक, पारदर्शी र विश्वासयोग्य बनाउनु सरकार तथा नियामकको प्रमुख जिम्मेवारी रहेको बताएका छन्। लगानीकर्ताको लगानी सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उनले त्यसैको नाममा हुने अराजक गतिविधि भने रोक्नुपर्ने धारणा राखेका थिए।
‘पूँजीबजार सुधार हुनैपर्छ, लगानीकर्ताको लगानी सुरक्षित हुनैपर्छ,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर बजार घट्नेबित्तिकै आन्दोलन गरेर माहोल थप बिगार्ने र नियामकलाई काम गर्न नदिने गतिविधि अब सहनु हुँदैन।’
उनले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तो बजारको सामान्य उतारचढावमै आन्दोलन गर्ने संस्कृतिले पूँजीबजारलाई थप अस्थिर बनाउने चेतावनीसमेत दिएको बताइएको छ।
सेबोन घेराउकै बीच मन्त्रालय पुगेका थिए अध्यक्ष
बजार निरन्तर घट्दा पनि सरकारले समस्या समाधानको स्पष्ट खाका ल्याउन नसकेको र लगानीकर्ताको सम्पत्ति खरानी भइरहँदा राज्य मूकदर्शक बनेको आरोप लगाउँदै लगानीकर्ता तिलक कोइरालाको आह्वानमा आन्दोलन सुरु भएको छ।
लगानीकर्ताले सेबोन घेराउ गरिरहेकै समयमा अध्यक्ष भट्ट अर्थमन्त्रीलाई भेट्न मन्त्रालय पुगेका थिए। यही भेटमा अर्थमन्त्रीले रेस्क्यू प्लान तत्काल सार्वजनिक गर्न तथा बजार सुधारको नाममा हुने दबाब र अराजक गतिविधिप्रति कठोर बन्न निर्देशन दिएको स्रोतको दाबी छ।
अब सेबोनले सार्वजनिक गर्ने पूँजीबजार रेस्क्यू प्लानले बजारको निराशा चिर्न सक्छ वा सक्दैन भन्ने विषयसँगै आन्दोलनरत लगानीकर्ताप्रति नियामकले कस्तो नीति अपनाउँछ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

