काठमाण्डौ । नेपाली पूँजी बजारलाई परम्परागत कारोबार प्रणालीबाट आधुनिक, प्रविधिमैत्री र विविधीकृत बजारमा रूपान्तरण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रियता बढाएको छ।
बोर्डले हालै सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई घोषणामै सीमित नराखी कार्यान्वयनमा लैजान नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई समयबद्ध कार्ययोजना पेस गर्न निर्देशन दिएको हो।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा नेप्से र सीडीएससीका उच्च पदस्थ अधिकारीहरूसँग भएको छलफलमा पूँजी बजार सुधारसम्बन्धी कार्यक्रमलाई प्राथमिकताका आधारमा तीव्र गतिमा अघि बढाउने विषयमा केन्द्रित छलफल भएको थियो।
असार ३० गते सार्वजनिक गरिएको मार्गचित्रमा बजारको गहिराइ विस्तार, नयाँ वित्तीय उपकरणको प्रवेश, कारोबार प्रणालीको आधुनिकीकरण तथा लगानीकर्तालाई उपलब्ध सेवाको विविधीकरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
छलफलका क्रममा अध्यक्ष भट्टले नेप्से र सीडीएससीसँग प्रत्यक्ष सम्बन्धित नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक काम, जिम्मेवार निकाय, समयसीमा र अपेक्षित नतिजासहितको स्पष्ट कार्ययोजना तयार गरी यथाशीघ्र बोर्डमा पेस गर्न निर्देशन दिएका छन्।
सर्ट सेलिङ कार्यान्वयनतर्फ निर्णायक पहल
लामो समयदेखि चर्चा हुँदै आए पनि कार्यान्वयनमा आउन नसकेको ‘सर्ट सेलिङ’ सेवा सुरु गर्ने विषयलाई बोर्डले विशेष प्राथमिकतामा राखेको छ।
अध्यक्ष भट्टले सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार, दक्ष जनशक्तिको व्यवस्थापन, जोखिम नियन्त्रण प्रणाली र प्राविधिक पूर्वाधारको आवश्यकता पहिचान गरी तत्काल तयारी सुरु गर्न नेप्से र सीडीएससीलाई निर्देशन दिएका हुन्।
सर्ट सेलिङ प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले शेयरको मूल्य बढ्दा मात्र नभई घट्दो बजारमा समेत निश्चित विधि र जोखिम व्यवस्थापनको दायराभित्र रहेर कारोबार गर्न सक्नेछन्। यद्यपि, यस्तो प्रणाली लागू गर्नुअघि प्रभावकारी नियमन, शेयर सापटी संयन्त्र, मार्जिन व्यवस्था, कारोबार अनुगमन तथा दुरुपयोग नियन्त्रणका पर्याप्त पूर्वाधार आवश्यक पर्नेछ।
“सर्ट सेलिङ सेवा सञ्चालनका लागि आवश्यक कानुनी तथा संरचनागत सुधारमा बोर्ड सबै प्रकारको सहजीकरण गर्न तयार छ,” अध्यक्ष भट्टले छलफलमा भने, “बजारलाई आधुनिक र प्रविधिमैत्री बनाउन नेप्से र सीडीएससीले अब कार्यान्वयनमा ढिलाइ गर्नु हुँदैन।”
छलफलमा नेप्से र सीडीएससीका अधिकारीहरूले बोर्डको मार्गचित्र तथा नीति कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएका थिए। नयाँ उपकरण तथा सेवा सञ्चालन गर्दा देखिन सक्ने प्राविधिक चुनौती, प्रणालीगत जोखिम र समाधानका सम्भावित उपायबारे समेत बैठकमा विस्तृत छलफल भएको थियो।
बोर्डको पछिल्लो निर्देशनलाई पूँजी बजार सुधारका घोषणालाई कार्यान्वयनसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ। निर्देशनअनुसार समयबद्ध काम अघि बढेमा नेपाली पूँजी बजारमा नयाँ कारोबार उपकरणको प्रवेश, तरलतामा सुधार, लगानी रणनीतिमा विविधता र बजारको गहिराइ विस्तार हुने अपेक्षा गरिएको छ।
तर, मार्गचित्रको सफलता निर्देशन र प्रतिबद्धताभन्दा पनि नेप्से, सीडीएससी र बोर्डबीचको समन्वय, प्राविधिक तयारी तथा निर्धारित समयभित्र हुने वास्तविक कार्यान्वयनमा निर्भर रहनेछ।

