काठमाण्डौ । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले राजधानी नयाँदिल्लीमा आयोजना गरेको ‘चलो संसद्’ मार्चका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ।
सोमबार बिहानदेखि जन्तरमन्तर क्षेत्रमा ठूलो संख्यामा भेला भएका सीजेपीका कार्यकर्ताले संसद् भवनतर्फ अघि बढ्ने प्रयास गरेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोकेका थिए। त्यसक्रममा दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो।
सार्वजनिक दृश्यमा र्यापिड एक्सन फोर्स (आरएएफ) का सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठी प्रयोग गरेको देखिएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र पार गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दिल्ली प्रहरीले सीजेपीले संसद् मार्चका लागि अनुमति नलिएको बताएको छ। संसद्को मनसुन अधिवेशन सुरु भएको दिन प्रदर्शन आह्वान गरिएपछि जन्तरमन्तर, संसद् भवन र आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रदर्शनका कारण मध्यदिल्लीका केही सडकमा आवागमन प्रभावित हुनुका साथै राजीव चोक र जनपथलगायत केही मेट्रो स्टेसन अस्थायी रूपमा बन्द गरिएको थियो।

