काठमाण्डौ । दक्षिण कोरियाका सरकारी वकिलहरूले कानूनले मानव उपभोगका लागि स्वीकृति नदिएको कमिलालाई डेजर्टको सजावट (गार्निस) का रूपमा प्रयोग गरेको आरोपमा दुई मिशेलिन–स्टार प्राप्त रेस्टुरेन्टका सञ्चालकलाई एक वर्ष कैद सजाय दिन अदालतसँग माग गरेका छन्। साथै, रेस्टुरेन्ट सञ्चालन गर्ने कम्पनीलाई २ करोड कोरियन वन (करिब १३ हजार ५ सय अमेरिकी डलर) जरिवाना गर्न पनि माग गरिएको छ।
दक्षिण कोरियाको खाद्य सुरक्षा कानूनअनुसार हाल १० प्रकारका कीराहरू मात्र मानव उपभोगका लागि स्वीकृत छन्। कमिला भने स्वीकृत सूचीमा नपर्ने भएकाले त्यसलाई खाद्य सामग्रीका रूपमा प्रयोग गर्न पाइँदैन।
अभियोजन पक्षका अनुसार रेस्टुरेन्टले सन् २०२१ देखि अमेरिका र थाइल्यान्डबाट सुकाइएका कमिला आयात गरी करिब चार वर्षसम्म विभिन्न परिकार, विशेषगरी सोर्बेमा टपिङका रूपमा प्रयोग गरेको थियो। अनुसन्धानमा करिब ४९ हजार कमिला प्रयोग गरिएको र उक्त परिकार १२ हजारभन्दा बढी पटक बिक्री भएको दाबी गरिएको छ।
रेस्टुरेन्ट सञ्चालकले कमिला प्रयोग गरिएको तथ्य स्वीकार गरे पनि सबै ग्राहकलाई कमिला नदिइएको बताएका छन्। उनका अनुसार १५ परिकारको टेस्टिङ मेनुमध्ये कमिला केवल एउटा डेजर्टमा सीमित थियो र करिब ६० प्रतिशत ग्राहकले मात्र कमिला प्रयोग भएको परिकार रोजेका थिए। कमिला नचाहने ग्राहकलाई खाने फूल वा अन्य वैकल्पिक सामग्री प्रदान गरिएको उनको भनाइ छ।
खाद्य सुरक्षा अधिकारीहरूले रेस्टुरेन्टमा प्रयोग गरिएका कमिलामा स्वीकृत खाद्य कीराको तुलनामा ५५ गुणासम्म बढी भारी धातु भेटिएको पनि बताएका छन्। यही कारण खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो।
यस मुद्दामा अदालतले आगामी सेप्टेम्बर २ मा अन्तिम फैसला सुनाउने अपेक्षा गरिएको छ।

