बुधबार, श्रावण ६,२०८३ 09:30:19
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 09:30:19
Bizshala
Global IME Bank Limited

बजार बढ्न थालेपछि सोझा फसाउने खेल सुरु, स्क्रिप्ट नै तोकेर सेयर किनबेच गराउने खुलेआम धन्दा

लो क्याप कम्पनीमा दुई-तीन सय रुपैयाँसम्म कमाइ हुने दाबी, लगानीकर्ताको नाममा ‘पम्प एन्ड डम्प’को जोखिम

बजार बढ्न थालेपछि सोझा फसाउने खेल सुरु, स्क्रिप्ट नै तोकेर सेयर किनबेच गराउने खुलेआम धन्दा
New Office

काठमाण्डौ । सेयर बजारमा सुधारको संकेत देखिन थालेसँगै सामाजिक सञ्जालमार्फत सोझा लगानीकर्तालाई निश्चित कम्पनीका सेयर किन्न उक्साउने खेल पुनः सक्रिय भएको छ।

फेसबुकलगायत सामाजिक सञ्जालमा कम्पनीको नाम अर्थात् ‘स्क्रिप्ट’ नै तोकेर सेयर किन्न सुझाव दिने, मूल्य दुई–तीन सय रुपैयाँसम्म बढ्ने दाबी गर्ने र कारोबार चलिरहेकै समयमा सम्भावित नाफाको लोभ देखाउने प्रवृत्ति खुलेआम देखिन थालेको हो।

बजार बढ्ने अपेक्षामा नयाँ तथा साना लगानीकर्ता प्रवेश गर्ने समयलाई लक्षित गरेर हुने यस्तो प्रचारले उनीहरूलाई उच्च मूल्यमा सेयर किन्न बाध्य पार्ने जोखिम हुन्छ। पहिले नै सेयर उठाइसकेका ठूला लगानीकर्ता वा समूहले सामाजिक सञ्जालबाट खरिद चाप सिर्जना गरी आफ्नो सेयर बेच्न खोजेको हुन सक्ने आशंका पनि बढेको छ।

पूँजीबजारबारे विश्लेषण, विचार र व्यक्तिगत धारणा राख्न पाइन्छ। तर कम्पनीको नाम र सम्भावित मूल्यवृद्धि नै तोकेर सर्वसाधारणलाई कारोबारका लागि प्रेरित गर्नु सामान्य अभिव्यक्ति मात्र नहुन सक्छ। यस्तो प्रचार पछाडि सम्बन्धित व्यक्तिको स्वार्थ वा योजनाबद्ध कारोबार भेटिएमा त्यो बजार हेरफेर तथा ‘पम्प एन्ड डम्प’को अनुसन्धानमा तानिन सक्छ।

‘अझै दुई-तीन सय खान पाइन्छ’

रमेशकुमार भट्टराई नामका एक व्यक्तिले सामाजिक सञ्जालमार्फत केही जलविद्युत् कम्पनीको नाम नै उल्लेख गरेर सेयर किन्न प्रेरित गर्ने आशयको पोस्ट गरेका छन्।

उनले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, स्नो रिभर लिमिटेड, कालिञ्चोक हाइड्रो, भुजुङ हाइड्रो र एपोलो हाइड्रोलाई न्यून पूँजी भएका कम्पनीका रूपमा प्रस्तुत गर्दै तिनको मूल्य अझै दुई–तीन सय रुपैयाँसम्म बढ्न सक्ने दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘अब बढ्ने भनेकै यी कम्पनी हुन्, यिनमा अझै दुई–तीन सय खान पाइन्छ, कुरो बुझौँ।’

सम्बन्धित कम्पनीको वित्तीय अवस्था, आम्दानी, आयोजना सञ्चालनको स्थिति, संस्थागत सुशासन तथा जोखिमबारे कुनै आधार प्रस्तुत नगरी गरिएको यस्तो दाबीले सोझा लगानीकर्तालाई लोभ्याउने र हतारमा सेयर किन्न प्रेरित गर्ने जोखिम हुन्छ।

उक्त पोस्टमा पूँजीबजार सुधार अभियानका अगुवा तिलक कोइरालाले समेत प्रतिक्रिया जनाउँदै कम्पनीको नामै तोकेर किनबेच गर्न उक्साउँदा धितोपत्र बोर्डको कारबाहीमा पर्न सक्ने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘यसरी कम्पनीको नामै तोकेर किनबेच गर्न उक्साउने कुराले बुढेसकालमा धितोपत्र बोर्डको कारबाहीमा परिएला, आफूलाई सुधारौँ। बोर्डले जारी गरेका आठ बुँदा हेर्नुभयो ?’

अन्य लगानीकर्ताले पनि यसरी खुलेआम सेयर किन्न उक्साउने व्यक्तिमाथि बोर्डले छानबिन तथा कारबाही गर्नुपर्ने माग गरेका छन्।

कारोबार समयमै स्क्रिप्टको सूची

कृष्णहरि पण्डित नामका अर्का व्यक्तिले पनि कारोबार चलिरहेकै समयमा विभिन्न आठ कम्पनीको नाम उल्लेख गर्दै ती कम्पनीका सेयरमा लगानी गर्नेले कम घाटा बेहोर्ने आशय व्यक्त गरेका छन्।

उनले भूगोल इनर्जी, एचआईडीसीएल-पी, अपि पावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको नाम उल्लेख गरेका छन्।

‘यी कम्पनीको सेयरमा अहिले लगानी गर्नेहरूले घाटा बेहोर्न कमै पर्ला,’ उनको दाबी छ।

कुनै पनि कम्पनीको सेयरमा घाटा नहुने वा कम हुने ग्यारेन्टी कसैले दिन सक्दैन। तर सामाजिक सञ्जालमा प्रभाव राख्ने व्यक्तिले यसरी कम्पनीको सूची नै सार्वजनिक गर्दा त्यसले खरिद चाप र मूल्यमा प्रभाव पार्न सक्छ।

सम्बन्धित व्यक्तिसँग ती कम्पनीका सेयर छन् वा छैनन्, पोस्टअघि वा पछि उनीहरूले कारोबार गरे वा गरेनन् र यस्तो प्रचारले मूल्य तथा कारोबार परिमाणमा कस्तो प्रभाव पार्‍यो भन्ने विषय नियामकको अनुसन्धानबाट मात्र स्पष्ट हुन सक्छ।

सांकेतिक प्रचारको अर्को शैली

सेयर बजारका एक चर्चित लगानीकर्ताले समेत सांकेतिक शैलीमा बजारबारे पोस्ट गरेका छन्। उनले विश्वकपसँग जोडेर ‘एस फर स्पेन विन टुडे, एस फर सेयर मार्केट अल्सो विन टुडे’ लेखेका थिए।

उक्त पोस्टमा केही प्रयोगकर्ताले ‘एस’ बाट सुरु हुने सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर किन्न संकेत गरिएको अर्थ लगाउँदै प्रतिक्रिया दिएका छन्।

बजारमा ती लगानीकर्ताको विभिन्न विकास बैंकमा लगानी रहेको चर्चा भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। त्यसैले उनको अभिव्यक्ति सामान्य बजार धारणा हो वा निश्चित कम्पनीप्रति संकेत गरिएको प्रचार हो भन्ने निष्कर्ष नियामकीय अनुसन्धानबिना निकाल्न मिल्दैन।

तर प्रभावशाली लगानीकर्ताका सांकेतिक पोस्टलाई समेत ठूलो संख्याका प्रयोगकर्ताले खरिद संकेतका रूपमा बुझ्ने भएकाले यस्तो अभिव्यक्तिमा स्वार्थको सम्भावित द्वन्द्व र आफ्नो सेयर स्वामित्व खुलाउनुपर्ने आवाज उठेको छ।

यसरी फस्न सक्छन् सोझा लगानीकर्ता

बजार बढ्न थालेपछि सामाजिक सञ्जालमा निश्चित कम्पनीको चर्चा तीव्र बनाउने, ‘अब उड्छ’, ‘अझै यति रुपैयाँ खान पाइन्छ’ वा ‘घाटा हुँदैन’ जस्ता दाबी गर्ने र सर्वसाधारणको खरिद चाप बढेपछि पहिले उठाएको सेयर बेच्ने प्रवृत्तिलाई सामान्यतः ‘पम्प एन्ड डम्प’ भनिन्छ।

यसमा योजनाबद्ध रूपमा कम्पनीको अत्यधिक प्रचार गरी मूल्य बढाउने प्रयास गरिन्छ। प्रचारको प्रभावमा सर्वसाधारण लगानीकर्ता उच्च मूल्यमा प्रवेश गरेपछि ठूला परिमाणमा बिक्री हुन थाले मूल्य एकाएक घट्न सक्छ। त्यसको सबैभन्दा ठूलो क्षति अन्तिम चरणमा सेयर किन्ने साना लगानीकर्ताले बेहोर्नुपर्छ।

विशेषगरी चुक्ता पूँजी कम भएका कम्पनीमा सीमित कारोबारले पनि मूल्यमा ठूलो उतारचढाव ल्याउन सक्ने भएकाले यस्ता कम्पनी प्रचार गर्ने समूहको प्राथमिकतामा पर्न सक्छन्।

यद्यपि कम्पनीको नाम उल्लेख गर्दैमा प्रत्येक अभिव्यक्ति गैरकानुनी ठहरिँदैन। कारबाहीका लागि प्रचार गर्ने व्यक्तिको नियत, सेयर स्वामित्व, कारोबारको समय, सूचनाको सत्यता तथा मूल्य र कारोबारमा परेको प्रभावलगायत विषय प्रमाणित हुनुपर्छ।

नीति कडा, नियामकको उपस्थिति कमजोर

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीतिमा सामाजिक सञ्जालबाट फैलिने भ्रामक सूचना र अनधिकृत लगानी परामर्शका कारण लगानीकर्ताले अनावश्यक जोखिम बेहोर्नुपरेको स्वीकार गरेको छ।

बोर्डले अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालबाट बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगीविरुद्ध निगरानी र कानुनी कारबाही सुदृढ बनाउने जनाएको छ।

सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिबाट धितोपत्र बजारलाई प्रभावित पार्ने सूचना प्रवाह भए–नभएको विश्लेषण तथा सुपरिवेक्षण प्रभावकारी बनाउने प्रतिबद्धता पनि नीतिमा छ। तर स्क्रिप्ट र सम्भावित लाभ नै तोकेर प्रचार भइरहँदा बोर्डको सक्रियता भने कमजोर देखिएको छ।

पूँजीबजार सुधार अभियानका अगुवा कोइरालाले सरकारलाई बुझाएको ३० बुँदे सुझावमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समूह बनाई शुल्क लिएर वा नलिई, सक्कली वा नक्कली नामबाट सेयर किनबेचको सल्लाह दिने, अफवाह फैलाउने र बजार हेरफेर गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।

बोर्डका एक उच्च अधिकारीका अनुसार सामाजिक सञ्जालका प्रत्येक पोस्टमाथि व्यक्तिगत रूपमा निगरानी गर्न कठिन भए पनि प्रमाणसहित सूचना प्राप्त भए छानबिन प्रक्रिया अघि बढाउन सकिन्छ।

तर सामाजिक सञ्जालको दुरुपयोग तीव्र भइरहँदा नियामक उजुरी कुरेर बस्ने कि कारोबारको तथ्यांक र अनलाइन प्रचारलाई जोडेर सक्रिय निगरानी गर्ने भन्ने प्रश्न उठेको छ।

कम्पनीको वित्तीय अवस्था नहेरी सामाजिक सञ्जालमा कसैले तोकेको स्क्रिप्ट किन्ने लगानीकर्ताले बुझ्नुपर्ने मुख्य कुरा स्पष्ट छ-नाफाको सपना देखाउने व्यक्ति घाटाको जिम्मेवार हुँदैन, जोखिम भने सेयर किन्ने लगानीकर्ताले नै बेहोर्नुपर्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.